बुटवल समाचारदाता
बुटवल, जेठ २० गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि सर्जरीको पालो कुरिरहेका बिरामीका लागि असार १ गतेदेखि विशेष सर्जरी सेवा सुरु हुने भएको छ । पित्तथैलीको शल्यक्रियाका लागि महिनौँदेखि पालोमा रहेका सेवाग्राहीलाई लक्षित गरी आयोजना हुन लागेको ‘विशेष सर्जरी’ कार्यक्रममा तीन सय जनाले सेवा पाउने अपेक्षा गरिएको छ ।
अस्पताल प्रशासनले सूचना जारी गरी विशेष सर्जरी सेवाका लागि नाम दर्ता गराउन आग्रह गरेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालको ओपिडी सेवा अन्तर्गत पित्तथैलीको अपरेसनका लागि पालोमा रहेका बिरामीको शल्यक्रियाका लागि अभियान सुरु हुन लागेको जानकारी दिनुभयो । उहाँले यो कार्यक्रम अन्तर्गत कम्तीमा तीन सय जना बिरामीलाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको बताउनुभयो ।
अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले यो अभियान सम्पन्न भएपछि शल्यक्रियाका लागि सेवाग्राहीले गुनासो गर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । अस्पताल विस्तार कार्यक्रम अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति सेवाका लागि छुट्टै शल्यक्रिया कक्ष स्थापना भएको छ । अस्पतालका प्रशासकीय प्रमुख केसीका अनुसार औसतमा वार्षिक करिब १० हजार बिरामीको शल्यक्रिया हुने गरेको छ ।
पछिल्लो आर्थिक वर्षमा अस्पतालबाट तीन लाख ४८ हजार ९७१ जनाले स्वास्थ्य सेवा लिएका छन् । सेवाग्राहीको चाप र जनगुनासोलाई कम गर्न अस्पतालमा विशेष सर्जरी कार्यक्रम सञ्चालन गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालप्रतिको जनगुनासो कम गर्नुका साथै विशिष्टीकृत सेवालाई थप गर्दै लैजाने तथा भएका सेवालाई थप गुणस्तरीय बनाउनेमा अस्पतालले योजनाबद्ध रूपमा काम गर्दै आएको बताउनुभयो ।