• २२ जेठ २०८२, बिहिबार

अलपत्र नमुना बस्ती

blog

बगलाचुलीको हाँसीपुरस्थित नमुना बस्तीमा निर्माण गरिएको घर । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता

घोराही, जेठ २० गते । संरक्षणको अभावमा विपन्न परिवारका लागि दाङको बगलाचुली गाउँपालिका–८, हाँसीपुरमा निर्माण गरिएका नमुना बस्तीका घर जीर्ण बन्न थालेका छन् । प्रतिघर १० लाख रुपियाँका दरले करिब ६० लाख रुपियाँ खर्च गरेर सात वर्षअघि निर्माण गरिएका घर प्रयोग नै नगरेर जीर्ण बन्न थालेका हुन् । 

आर्थिक रूपमा विपन्न, घरजग्गा नहुने परिवारलाई आवासीय सेवा पु¥याउने उद्देश्यले हाँसीपुरमा छ वटा ‘प्रिफ्याब’ घर निर्माण गरिएको थियो तर विपन्न परिवारका लागि निर्माण गरिएका घर लामो समयसम्म पनि प्रयोगमा नआउनुका साथै संरक्षण नहुँदा जीर्ण बन्दै गएका छन् । संरक्षण नहुँदा नमुना बस्तीका घरका झ्याल, ढोकासँगै भित्ता र शौचालय तोडफोड भएको छ । 

झ्याल, ढोकासँगै भित्ता र शौचालय तोडफोड हुँदा अहिले बस्नै नसकिने गरी घर भत्किएको स्थानीय खुमा घर्तीले बताउनुभयो । नमुना बस्तीमा मानिस नबसे पनि संरक्षणमा ध्यान दिएको भए घरहरू बच्न सक्ने अवस्था रहेको भन्दै स्थानीय घर्तीले भन्नुभयो, “सरकारले घर बनायो तर संरक्षण कसले गर्ने भनेर कसैलाई जिम्मेवारी दिएन । 

यसले गर्दा लाखौँ रुपियाँ लगानी गरेर बनेका घर भत्किन थालेका छन् ।” बगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा हाँसीपुरसँगै वडा नं. ५ को मुर्कुटीमा आठ, वडा नं. ५ कै झेल्नेटामा चार, वडा नं. ४ को कमिरेचौरमा छ र वडा नं. २ को पुरुङमा छ वटा घर निर्माण गरेको थियो । नमुना बस्ती बनाउने योजना अन्तर्गत मुर्कुटीमा निर्माण गरिएको एउटा, कमिरेचौर र झेल्नेटामा चार वटा घर प्रयोगमा आए पनि अन्य घर खाली अवस्थामा छन् । 

बगलाचुली गाउँपालिका–८ का अध्यक्ष झवीन्द्रबहादुर गाहामगरले जग्गाजमिन नभएका र घरविहीन गरिब तथा विपन्न परिवारलाई राख्ने गरी घर निर्माण भए पनि कोही बस्न नमान्दा घरहरू खाली र त्यसैमा स्थानीयले तोडफोड गर्दा जीर्ण अवस्थामा पुगेको बताउनुभयो । वडाध्यक्ष गाहामगरले भन्नुभयो, “घर निर्माण गरिए पनि बस्तीदेखि टाढा हुँदा कोही बस्न मानेनन् ।” 

बगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले राज्यको लगानीबाट निर्माण गरिएका घरको संरक्षण गर्ने जिम्मा स्थानीयवासीको समेत भए पनि स्थानीयले आफ्नो सम्पत्ति भनेर महसुस नगर्दा घरहरू तोडफोड भएको बताउनुभयो । 

उपाध्यक्ष जिसीका अनुसार नमुना बस्ती निर्माण योजना अन्तर्गत गाउँपालिकाका पाँच स्थानमा दुई/दुई कोठाका ३० वटा भूकम्पप्रतिरोधी ‘प्रिफ्याब’ घर निर्माण गरिएको थियो । घर निर्माणका लागि सङ्घीय सरकारको दुई करोड र बगलाचुली गाउँपालिकाको एक करोड गरी करिब तीन करोड रुपियाँ लगानी गरिएको छ ।