• २२ जेठ २०८२, बिहिबार

वन्यजन्तु उद्धारमा समस्या

blog

फाइल तस्बिर ।

घोराही समाचारदाता

घोराही, जेठ २० गते । विभिन्न कारणले समस्यामा परेका वन्यजन्तु उद्धारका लागि पर्याप्त सामग्री नहुँदा समस्या हुने गरेको छ । वन क्षेत्र बढ्दा बस्तीमा पसेकासँगै घाइते अवस्थामा भेटिएका वन्यजन्तुको उद्धारका लागि सामग्री नहुँदा दाङ जिल्लामा बेला बेला समस्या हुने गरेको हो ।

उद्धार सामग्रीबिना फिल्डमा खटिँदा जोखिम हुने र कार्यालयसँग उद्धारका सामग्री नहुँदा कतिपय अवस्थामा जोखिम नै मोलेर उद्धार गर्नुपर्ने अवस्था छ । डिभिजन वन कार्यालय दाङ देउखुरीका डिभिजनल वन अधिकृत महेन्द्रराज काफ्लेले उद्धार सामग्रीका लागि विगतदेखि नै कुरा उठ्दै आए पनि सामग्री व्यवस्थापन नहुँदा वन्यजन्तुको उद्धार गर्दा समस्या पर्ने गरेको बताउनुभयो । 

दक्ष जनशक्ति र उद्धार सामग्री नहुँदा ठुला वन्यजन्तु उद्धारका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग समन्वय गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालयमातहत रहेका सबडिभिजन वन कार्यालयमा समेत तालिमप्राप्त उद्धारकर्ता र उद्धारका लागि आवश्यक सामग्री नभएको उहाँले बताउनुभयो । 

बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको वन क्षेत्र भएकाले पछिल्लो समय देउखुरी क्षेत्रमा चितुवा, चित्तल, रतुवालगायत जनावर बस्तीमा देखिने गरेका छन् । जिल्लामा ठुला तथा हिंस्रक वन्यजन्तु उद्धार गर्ने प्रविधि तथा सामग्रीको अभाव भएको भन्दै उद्धार गरिएका वन्यजन्तुको उपचार र व्यवस्थापनमा समेत समस्या भएको उहाँले बताउनुभयो । उहाँले घाइते वन्यजन्तु राख्ने ठाउँसँगै टुहुरा बच्चा हुर्काउन पनि चुनौती रहेको बताउनुभयो । 

उहाँले जङ्गली जनावर बस्तीमै पुग्दा स्थानीय त्रसित हुने र वन कार्यालयमा फोन गर्दा जनावर समात्ने पन्जा, बन्दुक, जाल, बाकस, सुरक्षात्मक पोसाकलगायतका अत्यावश्यक सामग्री नहुँदा उद्धारमा समस्या हुने बताइने गरेको उहाँले बताउनुभयो । 

उद्धारका लागि सामग्री नहुँदा समयमै नसकिने र जोखिम बढी हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “वन्यजन्तुको उद्धार संवेदनशील र जोखिमपूर्ण काम हो । पर्याप्त सामग्री नहुँदा जनावरलाई सुरक्षित रूपमा नियन्त्रण गर्न गाह्रो हुन्छ ।