सलिम मियाँ
बिजुवार, चैत २६ गते । प्यूठानको माण्डवी गाउँपालिका ३ ले अति विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क आवासीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । वडाध्यक्ष धनेन्द्र कार्कीका अनुसार गाउँपालिकाका पाँचै वडाका गरिब, अनाथ, असहाय तथा अभिभावकविहीन बालबालिकालाई कक्षा १ देखि १२ सम्म आवासीय सुविधा सहितको निःशुल्क शिक्षा प्रदान गरिने छ ।
यस उद्देश्यका लागि नयाँगाउँस्थित माण्डवी माध्यमिक विद्यालयलाई केन्द्र बनाई आगामी शैक्षिक सत्र २०८२ देखि कार्यक्रम लागु गरिने वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
“सामाजिक न्याय र शैक्षिक पहुँच सुनिश्चित गर्न यो कार्यक्रम सुरु गर्न लागिएको हो,” अध्यक्ष कार्कीले भन्नुभयो, “अब यो विद्यालय सुविधाविहीन बालबालिकाका लागि आशाको केन्द्र बन्ने छ ।”
कार्यक्रम २०८२ सालदेखि लागु हुने छ भने छनोट प्रक्रिया र अन्य विवरण चाँडै सार्वजनिक गरिने जनाइएको छ ।