• ३ साउन २०८१, बिहिबार

वैदेशिक रोजगारबारे जनप्रतिनिधिहरुलाई सचेत

blog

नविन शिशिर

बागलुङ, जेठ २२ गते । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउने उद्देश्यले बागलुङका जनप्रतिनिधिलाई ‘वैदेशिक रोजगारबारे सचेत गराइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार बागलुङमा नवनिर्वाचित जनप्रतिनिधिसँग वैदेशिक रोजगार व्यवस्थापनका विविध पक्षबारे अन्तरक्रिया तथा छलफल गरेर जनप्रतिनिधिलाई सचेत गराएको हो । 

वैदेशिक रोजगारलाई व्यवस्थित गराउन स्थानीय तह तथा वडास्तरबाट गर्न सकिने क्रियाकलपबारे जनप्रतिनिधिलाई जानकारी दिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव थानेश्वर सुवेदीले जानकारी दिनुभयो । 

जनप्रतिनिधिले आफ्नो नीति तथा कार्यक्रममा वैदेशिक रोजगारमा जाने सम्भावित युवालाई जानुपूर्व, प्रक्रियाको चरण र गर्नुपर्ने सुरक्षा सावधानीको विषयमा सचेत, विदेशबाट फर्कने युवाको सामाजिकीकरण, विदेशमा सिकेको सीप र प्रविधिका स्थानीय स्तरमा उपयोग गर्न सकिने विषयमा जानकारी दिइएको थियो । 

सानो सूचना अभावले वैदेशिक रोजगारमा जाने व्यक्तिले ठूलो समस्या भोग्नुपरेको हुँदा स्थानीय तहले सचेतनामुलक कार्यक्रममा जोड दिनुपर्ने मन्त्रालयका सहसचिव राजिव पोखरेलले बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहको समन्वयबाट वैदेशिक रोजगारलाई थप मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सकिने उहाँको भनाई छ । 

राज्यको सबैभन्दा तल्लो र बलियो संगठन वडा कार्यालय भएको वैदेशिक रोजगारमा जान सक्ने सम्भावित युवालाई सीप तालिम, आवश्यक सूचना प्रवाह गर्नु पर्नेबारे जनप्रतिनिधिलाई सचेत गराइएको छ । पछिल्लो समय भिजिट भिसामा जाने र काम गर्ने प्रवृत्तिले वैदेशिक रोजगारमा थप जटिलता सिर्जना भएको सहसचिव पोखरेलले उल्लेख गर्नुभयो । भिजिट भिषामा काम गर्नेलाई समस्या हुँदा राज्यले सहयोग गर्न कठिन हुने उहाँको भनाई छ । 

जसरी पनि विदेश छिर्ने चाहनाले सामाजिक संगठन भत्किदैगएको बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताउनुभयो । ‘विदेश मोहले सामाजिक तथा पारिवारिक संरचनामा विचलन आएको छ’ उहाँले भन्नुभयो– ‘विदेश जाने प्रयोजका लागि हुने अदालती विवाह, सम्बन्धविच्छेद, हाडनाता सम्बन्ध कायम यसका उदाहरण हुन ।’

वैदेशिक रोजगार बाध्यतकाो उपज भएको हुँदा वैदेशिक रोजगारलाई व्यवस्थित गराउन स्थानीय सरकारले आवश्यक पहल र समन्वय गर्ने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खडकाले बताउनुभयो ।