• २६ चैत २०८१, मङ्गलबार

कोरियामा नयाँ अवसर

blog

दक्षिण कोरिया अन्तर्राष्ट्रिय विद्यार्थीका लागि एक उत्कृष्ट गन्तव्य हो । विभिन्न देशबाट बर्सेनि हजारौँ विद्यार्थी यहाँका विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा अध्ययनका लागि आउने गर्छन् । एक तथ्याङ्क अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीका १० उत्कृष्ट गन्तव्यमध्ये एक दक्षिण कोरिया पनि हो । दक्षिण कोरियाका करिब पाँच सय विश्वविद्यालय तथा कलेजमा विश्वभरका विभिन्न देशबाट प्राविधिक, सामाजिक तथा भाषा अध्ययनका लागि विद्यार्थी आउने गर्छन् । 

दक्षिण कोरियामा युरोप, अमेरिका, अफ्रिकादेखि एसियाका विभिन्न देशबाट हजारौँको सङ्ख्यामा विदेशी विद्यार्थी अध्ययनका लागि आउने गर्छन् । सन् २०२३ को तथ्याङ्क अनुसार कोरियामा कुल एक लाख ८१ हजार ८४२ जना विदेशी विद्यार्थी आएका थिए । यसमध्ये ३७ प्रतिशत हिस्सासहित चीनबाट आउने विद्यार्थीको सङ्ख्या सबभन्दा धेरै थियो । बाँकीमा भियतनामबाट २५ प्रतिशत र उज्बेकिस्तानबाट ५.७ प्रतिशत विद्यार्थी थिए । हालैका वर्षमा नेपालबाट पनि विभिन्न विषयमा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार हाल कोरियामा करिब १० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । 

कतिपय विद्यार्थीमा जुन देशमा अध्ययन गर्‍यो, निश्चित समयसम्म त्यसै देशमा रोजगारी गर्ने चाहना हुन्छ । यस्तो अवस्थालाई ध्यान दिँदै दक्षिण कोरिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि नयाँ अवसर प्रदान गर्ने निर्णय गरेको छ । कोरियाको न्याय मन्त्रालयले देशभित्र ‘नर्सिङ केयर’ सम्बन्धी अध्ययन गर्ने विद्यार्थीका लागि नयाँ अवसरको ढोका खोलेको हो । सन् २०२४ जुलाईमा एक नीति पारित गर्दै यस्तो अवसर प्रदान गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार अबदेखि कोरियाका विभिन्न विश्वविद्यालयमा नर्सिङ कोर्स अध्ययन गर्ने विद्यार्थीले निश्चित मापदण्ड पूरा गरेपछि ई–७ भिसासमेत प्राप्त गर्न सक्ने छन् । 

ई–७ भिसा कोरिया सरकारले विशेषतः दक्ष कामदारका लागि प्रदान गर्ने भिसा हो । यसका पनि विभिन्न तह छन् । ई–७ (१) भिसा दक्ष व्यावसायिक कामदार जस्तै– इन्जिनियर, म्यानेजर, विश्वविद्यालयका प्राध्यापक आदिलाई प्रदान गरिन्छ भने अर्धदक्ष तथा अदक्ष कामदारलाई पनि निश्चित प्रक्रिया पूरा गरेपछि यो भिसा प्रदान गरिन्छ । यो भिसा प्राप्त गरेपछि आफ्नो परिवारसहित कोरिया बसेर रोजगारी गर्ने अनुमति पाइन्छ । न्याय मन्त्रालयका एक अधिकारीका अनुसार यस नीतिको कार्यान्वयनस्वरूप सन् २०२५ जनवरीमा एक विदेशी विद्यार्थीलाई यस्तो भिसा प्रदान गरिसकिएको छ । सन् २०१८ देखि कोरियामा अध्ययन गरिरहेका ती विद्यार्थीले ग्य्राजुएसन (स्नातक) अध्ययन सकेका थिए । कोरिया सरकारले कृषि, वेल्डर, पशुपालन, भाषा अनुवादक, पर्यटक गाइड, पानीजहाज निर्माणका वेल्डरलगायत सूचीकृत गरेका ९० वटा विभिन्न सिपयुक्त पेसामा दक्षता हासिल गरेका विश्वविद्यालयका विद्यार्थीलाई पनि ई–७ भिसा प्रदान गर्दछ । यस्तो पेसागत शिक्षा प्राप्त गरेका विद्यार्थीमा सम्बन्धित विषयको शैक्षिक अध्ययन तथा आफ्नो दक्षता पनि आवश्यक पर्छ । 

सन् २०२४ को जुलाईदेखि कोरिया सरकारले यस्तो व्यवस्था गरेको हो । यसै अन्तर्गत सरकारले सूचीकृत गरेको व्यावसायिक (पेसागत) अध्ययन अन्तर्गत ‘नर्सिङ केयर कामदार’ पनि एक विधा हो । यो शिक्षा प्राप्त गरेका विद्यार्थीले निश्चत प्रक्रिया पूरा गरेपछि ई–७ भिसा प्राप्त गर्न सक्ने छन् । यसका लागि सरकारले निर्धारण गरेको ‘नर्सिङ केयर वर्कर’ सम्बन्धी पाठ्यक्रमको अध्ययन पूरा गरेर परीक्षा उत्तीर्ण गर्नुपर्ने छ । कोरिया सरकारले यो व्यवस्थाबाट देशले भोग्नु परिरहेको दक्ष कामदार अभावको समस्या समाधान हुने अपेक्षा गरेको छ किनकि प्रविधि र तीव्र आर्थिक उन्नतिका कारण कोरियाका नागरिकको औसत उमेर बढिरहेको छ । 

देशमा वृद्धवृद्धाको सङ्ख्या बढ्दै जाने तर युवा र बालबालिकाको सङ्ख्या कम हुँदै जाने विकसित देशको जस्तो विश्वव्यापी समस्या कोरियामा पनि देखिएको छ । कोरिया सरकारको तथ्याङ्क अनुसार हाल ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाको सङ्ख्या करिब २० प्रतिशत छ । यो सङ्ख्या बर्सेनि ०.२४ प्रतिशतले वृद्धि भइरहेको छ । कोरिया सरकारको कानुन अनुसार योभन्दा माथिका उमेर समूहमा रहेका वृद्धवृद्धालाई हेरचाह गर्नुपर्ने अवस्थामा पुग्छन् । यस्ता वृद्धवृद्धाको हेरचाह गर्नका लागि कोरियामा दक्ष जनशक्ति अभाव छ । युवा आधुनिक र अन्य प्राविधिक अध्ययनतिर आकर्षित भइरहँदा कोरियाले वृद्धवृद्धाको हेरचाह गर्ने दक्ष युवा कामदारको अभाव झेलिरहेको छ । वृद्धवृद्धालाई उत्कृष्ट सेवा तथा संरक्षण दिन सञ्चालित निजी तथा सरकारी क्षेत्रबाट सञ्चालित वृद्धाश्रम वा नर्सिङ केयरसहितका संस्था अप्ठ्यारोमा छन् । यहाँ स्मरणीय के छ भने कोरियामा ९० प्रतिशत यस्ता संस्था निजी क्षेत्रबाट सञ्चालित छन् । यस्तो अवस्थामा यहाँकै संस्थामा सेवा दिने सुनिश्चित उद्देश्यसहित विदेशबाट कोरियामा अध्ययन गर्न आउने विद्यार्थीले ठुलो टेवा दिने सम्भावना छ । 

सरकारी अधिकारीका अनुसार यसै विषयलाई ध्यान दिँदै सन् २०२५ को मार्चदेखि यो नर्सिङ केयरसहितको पाठ्यक्रम प्रणालीलाई बृहत्तर कार्यान्वयनमा ल्याउने निर्णय भएको छ । सरकारको यही नीतिगत व्यवस्थालाई आधार मान्दै इनचोन नगरपालिकाले पनि अन्तर्राष्ट्रिय विद्यार्थीलाई यो विषयमा अध्ययनका लागि आवेदन आह्वान गर्ने तयारी गरेको छ । यसका लागि इच्छुक विद्यार्थीले कोरियन भाषा परीक्षणको तह ३ वा ४ परीक्षा उत्तीर्ण गरेमा तालिमको अवधि थप एक वर्ष घटाउन सक्ने छ । कोरिया सरकारको नीति अनुसार भाषा परीक्षणको विभिन्न तह निर्धारण गरिएको छ । तह ३ वा ४ कोरियन भाषा परीक्षणको निपुण तह हो । भाषामा निकै राम्रो दखल राख्नेले मात्र यो तह उत्तीर्ण गर्न सक्छन् ।