साधन घर्ती
म्याग्दी (दरबाङ), चैत २६ गते । लुलाङका ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएकाको परिवारलाई प्रवासीहरुले अर्थिक सहयोग गरेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङमा यही चैत ७ गते र कात्तिकमा छु्ट्टाछुट्टै ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाको पीडित परिवारहरुलाई सोही वडा घर भई हाल अमेरिका निवासी तारा गौचनको नेतृत्वमा अमेरिकालगायत विभिन्न देशमा रहेका वडावासीले ६ लाख ४० हजार ६३८ रुपियाँ आर्थिक सहयोग गरेका हुन् ।
यही चैत ७ गते लुलाङको पाखापानीस्थित नकटेडाँडा नजिकै भएको ट्याक्टर दुर्घटनामा परी सोही लुलाङ गाउँका १८ वर्षीय देविन बिक र २१ वर्षीय पूर्णलाल रसाइलीको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।
यसैगरी, सोही वडास्थित खोरियाका गोकुल पाइजाको गत कात्तिक महिनामा ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको थियो । मृतकका परिवारलाई जनही एक लाख एक हजार पाँच सय रुपियाँका दरले वितरण गरिएको छ ।
घाइतेहरु सोही वडाका कविराज विक र कमल विक तथा मालिका गाउँपालिका–६, दरबाङका विकास बिकलाई जनही एक लाख एक हजार पाँच सय रुपियाँका दरले आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ भने सामान्य घाइते हुनुभएका धवलागिरी गाउँपालिका–४,का किस्मत बिकलाई २२ हजार रुपियाँ सहयोग गरिएको छ ।
उक्त आर्थिक सहयोग रकम सोमबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच पीडित परिवारलाई वडा अध्यक्ष अकप्रसाद बिक र समाजसेवी ज्ञानबादुर पाइजाले हस्तान्तरण गर्नुभयो । मृतक पूर्णलालका बुबा शेरबहादुर बिक, वडा अध्यक्ष बिक र समाजसेवी पाइजाले सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । घाइते सबै खतरामुक्त रहे पनि पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या देखिएको भन्दै वडा अध्यक्ष बिकले सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो ।