तम्घास समाचारदाता
तम्घास, वैशाख १६ गते । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरमा निर्माण व्यवसायीले भुक्तानी नपाए काम रोक्ने जनाएको छ । कोरिडोरको गुल्मी सडकखण्ड हर्मिचौरदेखि बलेवा सडकखण्डको ४५ किलोमिटर सडकमा स्तरोन्नतिसँगै कालोपत्रे गर्ने काम भइरहेको छ ।
निर्माण व्यवसायी कालिका कन्स्ट्रक्सनका परियोजना व्यवस्थापक महेश सुवेदीले करिब ५५ करोड भुक्तानी लिन बाँकी रहेको बताउनुभयो । उहाँले निर्धारित समय अनुसार काम गर्दा पनि राज्यबाट भुक्तानी पाउन नसक्नु दुःखद भएको गुनासो गर्नुभयो । बिटुमिन (अलकत्रा) भारतबाट ल्याउनुपर्ने हुँदा सबै नगदमा ल्याउनुपर्ने भएकाले पनि समस्या भएको उहाँको भनाइ छ । उहाँले उक्त सडकखण्डमा अलकत्राकै काम भएकाले रकम भुक्तान नभएमा काम अगाडि बढाउन नसकिने बताउनुभयो । अहिलेसम्म सम्झौता अनुसारको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ ।
कालीगण्डकी कोरिडोर गैँडाकोट, राम्दी मालढुङ्गा सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीका अनुसार केन्द्रबाट बजेट नआएका कारण निर्माण व्यवसायीलाई भुक्तान गर्न नसकिएको हो । केन्द्रमा बजेट माग गरिएकाले काम नरोक्नका लागि कार्यालयले निर्माण व्यवसायीलाई आग्रह गर्दै आएको छ ।
उहाँका अनुसार अहिले हर्मिचौर–बलेवा सडकखण्डमा ३० किलोमिटर सडक कालोपत्रे गर्ने काम सकिएको छ भने बाँकी १५ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम भइरहेको छ । यही गतिमा काम भएमा जेठ मसान्तसम्ममा सम्झौता अनुसारको काम सम्पन्न हुने उहाँको भनाइ छ ।
हर्मिचौर–बलेवा खण्डको ४५ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्ने कार्य कालिका कन्स्ट्रक्सनले गरेको छ । खत्रीले कुल तीन अर्ब ३३ करोड रुपियाँको लागतमा सम्पन्न हुने उक्त सडकको ८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको बताउनुभयो । कार्यालय र निर्माण व्यवसायीबिच २०७९ मङ्सिर २६ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते सम्पन्न गर्नुपर्ने उल्लेख छ ।
चट्टानसहितको भिर चार वर्ष पहिले नेपाली सेनाले बम विष्फोट गरी खोलेको ट्र्याकमा अहिले कालोपत्रेको काम भइरहेको छ । सूचना अधिकारी इन्जिनियर खत्रीले रिडी–हर्मिचौर सडकखण्डको २१ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र हस्तान्तरणको कार्य बाँकी रहेको जानकारी दिनुभयो । ६२ करोड ३६ लाखको लागतमा २०७७ साल भदौ १४ गते सम्झौता भई २०८१ साउनमा सम्पन्न गर्ने गरी शर्मा सगुन जेभीले उक्त कार्य गरेको छ ।