• १६ वैशाख २०८२, मङ्गलबार

नारायणघाट–बुटवल दाउन्नेको सडक १५ दिन बन्द

blog

बोमलाल गिरी

नवलपुर, वैशाख १६ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड थप १५ दिन राति ६ घण्टा बन्द हुने भएको छ । यसअघि वैशाख १५ गतेसम्म राति ६ घण्टा बन्द गर्ने भनिए पनि बाटो विस्तारको काम नसकिएको भन्दै सडक आयोजना निर्देशनालयले थप १५ दिन बाटो बन्द गर्ने जनाएको हो । 

निर्देशनालयले आज मङ्गलवार एक सूचना निकाली वैशाख ३१ गतेसम्म राती ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द गरिने जनाएको छ । यसअघि चैतमा ५ दिन दिउँसो चार घण्टा सवारी आवागमन रोकेर काम गरिएको थियो । 

बाटो बन्द भएको बेला बुटवल तर्फ जाने बस, मिनिबस, माइक्रो, बस तथा साना सवारी साधनलाई होङ्सी सिमेन्ट गेट दुम्किबास बजार खण्डमा र नारायणघाटतर्फ जाने सवारी साधनलाई चिसापानी बर्दघाट खण्डमा रोकिने आयोजनाले जनाएको छ । 

त्यस्तै बुटवल तर्फ जाने मालवाहक सवारी साधनलाई चोरमारा–आरुणखोला  बजार खण्डमा र नारायणघाट तर्फ जाने मालवाहक साधनलाई ज्यामिरे हकुई खण्डमा रोकिनेछ । 

घाम लाग्दा दुई फिटसम्म धुलो र हल्का पानी पर्ने बित्तिकै हिलोले गाडी गुड्नै नसक्ने अववस्था रहेकोमा यो खण्ड भएर यात्रा गर्नेहरुले थप सास्ती पाउने भएका छन् । दाउन्ने खण्डको १४ किलो मिटर पार गर्न घण्टौँ लाग्ने गरेको यात्रुले बताएका छन् ।

सवारी साधन नै रोकेर बाटो विस्तारको काम गर्ने भएपछि वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले चालकलाई अनुरोध गरेको छ । पूर्वबाट पश्चिम जाने सवारी साधनले गैँडाकोटदेखि कालिगण्डकी करिडोरको सडक र पूर्वबाट पश्चिम नारायणघाट तर्फ आउने सवारी साधनले बुटवलबाट पाल्पा हुँदै कालिगण्डकी कोरिडोरकै सडक प्रयोग गर्न सक्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनक बन्जाराले बताउनुभयो ।