टोपलाल अर्याल
रेसुङ्गा, वैशाख १५ गते । गुल्मीदरबार गाउँपालिका–१ बलिथुमकी ६० वर्षीया हुमकला नेपालीले अम्रिसोका कुचो बेचेर परिवारको खर्च चलाउँदै आउनुभएको छ । उहाँले आफ्नै बारीमा अम्रिसो लगाउनुभएको छ ।
अम्रिसोको कुचो गाउँघरमा सरसफाइको गर्न प्रयोग गरिन्छ । गाउँका कसैले घाँसकै रूपमा पनि अम्रिसो प्रयोग गर्छन् । कुचो बनाएर बिक्री गर्न बर्सेनि तम्घासमा अम्रिसोको कुचो बोकेर आउनुहुन्छ । अम्रिसोको कुचो प्रतिगोटा ७० रुपियाँमा बिक्री भएको नेपालीले बताउनुभयो । अम्रिसो टिप्न, सुकाउन र बनाउन निकै मेहनत भए पनि आम्दानी राम्रो हुने गरेको छ । १८ वर्षदेखि भारतमा श्रीमान् बेखबर बनेपछि मेलापात र मौसमी व्यापारबाट परिवार चलाउँदै आएको नेपालीको भनाइ छ ।
अम्रिसो बारी वा खर बारी जहाँ रोपे पनि हुन्छ । उहाँले राम्रो स्याहार वा खर्च नचाहिने भएकाले धेरै क्षेत्रफलमा रोप्न सकिने बताउनुभयो । आफ्नो जग्गा थोरै भएकाले धेरै लगाउन नमिल्ने भएकाले धेरै उत्पादन नभएको नेपालीले बताउनुभयो । “खाली बसेर के गर्ने जाँगर भए पैसा छ । कुचो बनाउन निकै मेहनत चाहिन्छ,”उहाँले भन्नुभयो,“धेरैले मन पराएर किन्ने भएकाले गाउँबाट बेच्न आउँछु । नेपाली गाउँबाट तम्घास आउन दुई घण्टा लाग्छ । त्यसैले हिँडेर आउन सम्भव नभएकाले गाडीमै आउनुपर्ने अवस्था छ ।
कुचो बेचेको पैसाले नुन तेल किनेर फर्किने गरेको नेपालीले बताउनुभयो । अम्रिसोको कुचो बलियो हुने भएकाले धेरैले किन्ने गरेका छन् । सदरमुकाम तम्घासमा नेपालीले ल्याएका दुई वटा कुचो किन्नु भएकाले मादने गाउँपालिका–१ अग्लुङ्गका काले खत्रीले जमनामा वन पाखाभर हुने अम्रिसो अहिले हराउँदै गएको बताउनुभयो । उहाँले आफूले सधैँ अम्रिसोकै कुचो प्रयोग गर्ने भएकाले कार्यालयलाई दुई वटा किनेको बताउनुभयो । खत्री जिल्ला खेलकुद विकास समितिको कार्यालय सहयोगी रहनुभएको छ ।