लेखनाथ (कास्की), मङ्सिर १८ गते । दसकयता बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटक घट्दै गएपछि यहाँका पर्यटन तथा डुङ्गा व्यवसायी चिन्तित छन् । पोखराको बैदामस्थित फेवातालमा आउने पर्यटक पनि बेगनास तालतर्फ जान छाडेपछि डुङ्गा व्यवसायी सङ्कटमा परेका हुन् ।
सार्वजनिक बिदाका दिन बेगनास तालमा घुम्न आउने आन्तरिक पर्यटक केही मात्रामा देखिए पनि विदेशी पर्यटक भने न्यून मात्रै पुग्ने गरेको तालमा ३७ वर्षदेखि डुङ्गा व्यवसाय गर्दै आउनुभएका मेघनाथ तिवारी बताउनुभयो । विसं २०७२ को भूकम्पसँगै बेगनास तालमा आउने पर्यटकको सङ्ख्या घट्दै गएको उहाँले बताउनुभयो ।
मुग्लिङ–पोखरा, तालचोक–बेगनास सडक पुनर्निर्माणका कारण यहाँ पुग्ने पर्यटकको सङ्ख्या घटेको बेगनास तालका डुङ्गा व्यवसायी सोमराज कँडेलले गुनासो गर्नुभयो ।
बेगनास तालका डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले डुङ्गा व्यवसायबाट दैनिकी नचलेपछि ३० प्रतिशत व्यवसायी अन्य पेसामा पुगेका छन् । बाँकी रहेका व्यवसायी पनि व्यवसायसँगै अन्य काममा संलग्न हुने गरेका छन्,” उहाँले भन्नुभयो ।
पोखरा महानगरपालिका–३१ मा रहेको बेगनास तालमा आन्तरिक पर्यटक नौका विहार र माछाका परिकार खान पुग्ने गर्छन् ।
पोखराको दोस्रो ठुलो बेगनास ३७३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ २८० वटा डुङ्गा सञ्चालनमा छन् भने करिब दुई सय जना डुङ्गा व्यवसायी छन । व्यवासयीले डुङ्गाको पालो कुर्न एक साता पर्खनु पर्छ । महिनाको तीन हजार रुपियाँले परिवार कसरी चल्न सक्छ,” पूर्वअध्यक्ष कँडेलले प्रश्न गर्नुभयो ।
बेगनास तालमा एक घण्टा नौका विहार गरेबापत व्यवसायीले सात सय र पाइडलबोटको एक हजार पाँच सय रुपियाँ निर्धारण गरिएको छ । तालमा तीन वटा मोटरबोट भए पनि ती मोटरबोट वराहमन्दिरमा जानआउनका लागि मात्र प्रयोग हुन्छन् ।
डुङ्गाबाट तालवरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृङ्खला, कालिकाको ठुलाकोट तथा बेगनासको सुन्दरीडाँडाको मनोहर दृश्यावलोकन गर्न सकिन्छ । बेगनास तालमा विसं २०३७ देखि व्यावसायिक रूपमा डुङ्गा सञ्चालन हुँदै आएको हो ।