• २९ वैशाख २०८१, शनिबार

पर्यटक घटे, बसाइ लम्बियो

blog

काठमाडौँ, जेठ २२ गते । मनोरञ्जन, यात्रा तथा भ्रमणका लागि नेपाल आउने पर्यटक बढेका छन् ।सन् २०२० मा गरिएको सर्वेक्षणअनुसार ६५ प्रतिशत विदेशी पर्यटक मनोरञ्जन, यात्रा तथा भ्रमणका लागि आउने गरेका थिए । हाल उक्त सङ्ख्या बढेर ६६.८ प्रतिशत पुगेको छ । 

हालै सार्वजनिक आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार पर्वतारोहण/साहसिक यात्रा तथा पदयात्राका लागि १०.३, तीर्थयात्राका लागि ७.४ र औपचारिक कार्यालय तथा अन्य विभिन्न उद्देश्यले नेपाल भ्रमण गर्नेको सङ्ख्या १५.५ प्रतिशत रहेको छ । दस वर्षयता बिदा, मनोरञ्जन, यात्रा, पदयात्रा, पर्वतारोहण तीर्थयात्रासम्बन्धी उद्देश्यले नेपाल भ्रणमा आउने पर्यटकको सङ्ख्या सन् २०२१ मा सबैभन्दा बढी हो ।

सर्वेक्षणले कोरोना महामारीका कारण नेपाल आउने पर्यटकको सङ्ख्यामा असर परे पनि पछिल्लो समय नेपाल आउने पर्यटकको बसाइ अवधि भने बढेको देखाएको छ । सन् २०२१ मा प्रतिपर्यटकको औसत बसाइ १५.५ प्रतिशत पुगेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ‘नेपाल पर्यटन तथ्याङ्क २०२०’ अनुसार सन् २०२० मा पर्यटकको औसत बसाइ १५.१ दिन रहेको थियो ।

सन् २०१९ मा पर्यटकको सरदर नेपाल बसाइ १२.७, सन् २०१८ मा १२.४ र सन् २०१७ मा १२.६ दिन थियो । त्यसअघि सन् २०११ मा १३.१२ र सन् २०१० मा १६ दिन रहेको तथ्याङ्कले देखाएको छ ।

सन् २०२१ को सर्वेक्षणले पर्यटकको औसत बसाइ बढेको देखाए पनि प्रतिदिन गर्ने औसत खर्च भने घटेको देखिन्छ । 

सन् २०२० मा नेपाल आउने प्रतिपर्यटकले दैनिक औसतमा ६५ डलर खर्च गर्ने गरेका थिए । सन् २०२१ मा भने नेपाल आएका पर्यटकले औसत ४८ डलर मात्रै खर्च गरेको तथ्याङ्कले देखाएको छ । जुन २०२० को तुलनामा २६.१ प्रतिशतले कम हो । सरकारी तथ्याङ्कअनुसार २०१९ मा पनि पर्यटकले ४८ डलर खर्च गर्ने गरेका थिए ।

सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट हुने आम्दानीसमेत घटेको छ । पछिल्लो सर्वेक्षणले सन् २०२१ मा १३ अर्ब ५० करोड ११ लाख रुपियाँ विदेशी मुद्रा आर्जन भएको देखाएको छ ।

सन् २०२० मा पर्यटन क्षेत्रबाट हुने आम्दानी करिब २६ अर्ब रुपियाँ रहेको थियो । त्यस्तै सन् २०१९ मा करिब ८६ अर्ब रुपियाँ रहेको थियो ।

महामारीका कारण नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०२१ मा एक लाख ५० हजार ९६२ रहेको थियो । जुन सन् १९७७ पछिको सबैभन्दा कम र सन् २०२० को भन्दा ३४.३ प्रतिशतले कम हो । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी नेपाल भित्रिएका थिए 

Author

मीनराज भण्डारी