दीपेन्द्र दोङ तामाङ
आमा बितेपछि सेकेन्ड धिमाल साँच्चिकै एक्लो भयो ।
छनलाई ऊभन्दा माथिका दुई दाजुहरू थिए तर उनीहरू भए पनि नभए सरह थिए । आफ्नै दाजुहरूलाई त कुनै मतलब थिएन, झन् भाउजू र भतिज भतिजाले के मतलब राख्थे र ? ऊ जहाँ जाओस्, जे खाओस् कसैलाई कुनै मतलव थिएन । कतिसम्म भने भर्खरै गएको न्वागीमा समेत दाजु, भाउजूले उसलाई सम्झेनन् । आमाले मर्नुअघि आफ्नो जिउनी जग्गा कान्छा छोरा अर्थात् उसको नाममा गराइदिएपछि त्यस घरमा ऊ सबैको आँखाको तारो बनेको थियो । तीन दिनको ज्वरो र पखलाले थलापरेकी उसकी आमाले चौथो दिनमा सधैँका लागि आँखा चिम्लेकी थिइन् । त्यस दिनदेखि ऊ अर्थात् सेकेन्ड धिमालका लागि यो दुनियाँ बिरानो बनेको थियो ।
उमेरले ३८ लागे पनि सेकेन्ड धिमाल गाउँका बच्चादेखि बूढापाका सबैका तिमी थियो । सबैले उसलाई तिमी नै भनेर बोलाउँथे । ऊ बोल्न त सक्थ्यो तर बोली प्रष्ट थिएन । दिमाग पनि अलि सुस्त थियो । त्यसैले बैंस ढल्नै लाग्दासमेत उसको घरजम भएको थिएन । यसो भनौँ न घरजम हुन सकेको थिएन । ऊसँग लोभिन न आकर्षक शारीरिक बनोट थियो न त उसको व्यक्तित्व नै आहा भन्ने खालको थियो । योग्यताको नाममा माछा मार्ने पोही, चाउकी, डुङरी र सोल्टी जस्ता जाल निगालो या बाँसको चोयाबाट बुन्ने कला भने उसले गजबले सिकेको थियो । व्यक्तित्व जस्तोसुकै भए पनि उसको मन असाध्य सफा थियो । तर अहिलेको समयमा मनको मूल्य कसले पो तोकिदिएको छ र ? ऊ सोझो थियो तर अरूका लागि त्यो सोझोपन लठेब्रो लाग्थ्यो । सेकेन्ड धिमाल उसको न्वारान नाम थिएन । न्वारानको नाम त उसको लाले धिमाल थियो । तर उसकी आमाबाहेक कसैले उसलाई लाले भनेर बोलाउँदैन थियो ।
अरूका लागि त ऊ सेकेन्ड धिमाल थियो । राख्नेले खै किन सेकेन्ड नाम राखिदिए थाहा भएन । घडीका तीन सुईमध्ये सेकेन्ड सुई सबैभन्दा छिटो चल्छ । सायद उसको लठेब्रोपन र आवश्यकताभन्दा बढी सोझोपनलाई व्यङ्ग्य गरेर सेकेन्ड नाम राखिदिएका हुन् कि । अथवा फस्ट क्लास नागरिकमा पर्ने कुनै योग्यता नभएकाले उसलाई सेकेन्ड भन्न थालिएको पनि हुनसक्छ । कारण जे भए पनि उसको नाम सेकेन्ड धिमाल थियो । तर त्यो नाम उसका लागि कुनै दृष्टिबाट मिल्दो थिएन । त्यसो त उसलाई आफ्नो नामसँग कुनै लिनुदिनु पनि थिएन ।
आमा बितेको तीन महिना मात्र भएको थियो तर आज सेकेन्ड धिमाललाई आमाको साह्रै याद आइरहेको थियो । बिहानै दाजु र भाउजूको नमीठो शब्दले उसको मन भाँचिएको थियो ।
फुसको त्यो एककोठे सानो घर उसको मनजस्तै रित्तो थियो । तीन महिना अघिसम्म उसकी आमा र ऊ त्यही घरमा बस्थे । भारी मन बोकेर ऊ घरभित्र पस्यो । घरका भित्तामा आमाले टाँसेको बालक श्रीकृष्ण र आमा यशोदाको फोटो थियो । फोटोको यशोदा उसलाई आफ्नी आमा जस्तै लाग्यो । मन थाम्न साह्रै गाह्रो भयो उसलाई । छेउमा रित्तो पलङ थियो, सँगै चिसो चुल्हो र आमाले कपडा बुन्ने खाली खाली पेटाने देखेपछि उसलाई आमाको यादले मन अझ भारी बनायो ।
सेकेन्ड धिमाल । ओइ सेकेन्ड धिमाल ।
बाहिरबाट कसैले बोलाएको सुनेर उसले आफूलाई सम्हाल्यो । अनि झ्यालबाट मुन्टो बाहिर निकालेर हे-यो । बाहिर चेतन सर आएको रहेछ ।
ओइ सेकेन्ड धिमाल एक्लै घरमा के गरेर बसेको । आइजा जाऔँ रतुवामा माछा छोप्न । जाल थाप्न त तिमी खप्पिस छौ नि ।
उमेरले चेतन सर अर्थात् चेतन भण्डारी ऊभन्दा ३–४ वर्ष जत्तिको कान्छो थियो तर अरूले जस्तै उसले पनि सेकेन्ड धिमाललाई तिमी नै भनेर बोलाउँथ्यो । तर अरूभन्दा चेतनले सेकेन्ड धिमाललाई बेसी माया गथ्र्यो । यो कुरा सेकेन्ड आफैँले अरूलाई सुनाउँथ्यो । चेतन सर यहाँको रैथाने भने थिएन । यहाँको सरकारी विद्यालयमा शिक्षक बनेर आएको थियो । घर त पश्चिम पाल्पातिर हो भन्थ्यो । जागिरे उसलाई घरको सरसफाइदेखि, लुगाफाटा धोइदिने मान्छे चाहिएको थियो । त्यसैले सेकेन्ड धिमालसँग उसले मित्रता बढाएको थियो ।
चेतन सरले माछा मार्न जान गरेको प्रस्तावले ऊ पुलकित भयो । माछा मार्न भनेपछि सेकेन्ड धिमाललाई सानैदेखि रमाइलो लाग्थ्यो । अर्को कुरा माछा मार्न जाने त चेतन सरको बाहाना मात्र थियो । किनभने माछा मार्न जाने निहुँमा उसकै विद्यालयमा कक्षा १० मा पढ्ने सुनिता घिमिरेलाई यसरी नै बिदामा भेट्थ्यो चेतन सर । काँसघारीमा बसेर चेतन सर र सुनिताले घण्टौँ बात मारेको सेकेन्ड धिमाललाई पनि राम्रो लाग्थ्यो । त्यसैले माछा मारेको बाहानामा लुकी लुकी चोर नजरले चेतन र सुनिताको चियो गर्दा उसको मनमा अनौठो गुदगुदी हुन्थ्यो ।
००००
चेतन सर र सेकेन्ड धिमाल रतुवा खोला पुगे । उनीहरू अक्सर मान्छेको चहलपहल नहुने ठाउँमा जान्थे । धेरै मान्छे नआउने ठाउँमा माछा पर्ने सम्भावना बढी हुन्छ भन्थ्यो चेतन सर । तर चेतन सरले भनेको ठाउँमा दिनभरिमा मुस्किलले तीन, चारवटा माछा जालमा पथ्र्यो ।
चेतन सर सधैँझैँ काँसघारीमा बस्यो । अनि सेकेन्ड धिमाल चाहिँ माछालाई जाल थाप्न खोलामा पस्यो । उसले आज पोही र चाउकी गरी दुईथरीका जाल बोकेको थियो । ती जालहरू ऊ आफैँले बाँसको चोयाबाट बुनेको थियो ।
उसको अनुमान आज पनि सही ठहरियो । केही समयपछि सुनिता त्यही आइपुगिन् । साँढे पाँच फुट अग्ली सुनिताको ज्यान केही दुब्लो थियो । तर छाती उमेरभन्दा केही ठूलो । अनुहारको बनोट सामान्य भए पनि उनी गाउँकै गोरीमा पर्थिन् । झापाको उधुमको गर्मीमा उनको त्यो गोरोपन वरिपरिका ठिटाहरूका लागि बत्ती जस्तै थियो । बत्ती बल्दा कीरा झुम्मिए जसरी गोरी सुनिताको वरिपरि ठिटाहरूको लाम लाग्थ्यो । तर सुनिता भने चेतन सरमा फिदा थिइन् । यसको साक्षी सेकेन्ड धिमाल थियो ।
आज पनि सेकेन्ड धिमालले जालमा माछा छोपेजस्तो गरी चेतन सर र सुनिताको चर्तिकला चियो गरिरह्यो । तर आजको दृश्य पहिलेको जस्तो थिएन । सुनिता रुँदै थिइन् । कहिले उनीहरूबीच झगडा परे जस्तो देखिन्थ्यो । कहिले चेतन सरले सुनितालाई अँगालो मारे जस्तो पनि देखिन्थ्यो । खास के भइरहेको छ, सेकेन्ड धिमालले मेसो पाउन सकेन । तर मनमनै यति अनुमान चाहिँ लगायो– आज कुछ गडबड छ ।
साँझ पर्ने छाँट देखेपछि सुनिता छुटेर गइन् । यसको मतलब हो अब उसले पनि माछा मार्ने कार्यक्रम आजका लागि रोकिदिनुपर्छ । नभन्दै चेतन सरले सिट्टी बजाएर उसलाई बोलायो र जाने सङ्केत दियो । आज ख्याल ख्यालमा सेकेन्ड धिमालले सातवटा माछा छोप्न भ्याएछ, जानुअघि खुङ्गीमा हेर्दा बल्ल चाल पायो उसले ।
०००
बुझ्यौ सेकेन्ड, आज तिमी र म बसेर तिम्रै घरमा यो माछा र रक्सी खाने । तिमी चिन्ता नगर माछा तिमी पकाउ, रक्सी म किनेर ल्याउँछु । सेकेन्डको घरछेउ पुग्नै लाग्दा चेतनले भन्यो ।
सेकेन्डले नाइँ भन्ने आधार थिएन किनभने कुनै कारण पनि त ऊसँग थिएन । तर चेतन सरको प्रस्तावले अघि उसले भनेको कुछ त गडबड छ भन्ने कुरा साँचो ठहरियो । त्यसैले ऊ फिस्स हाँस्यो । उसले केही बोल्नुअघि ल म रक्सी लिएर आउँछु भनेर चेतन सर दोकानतिर लाग्यो । मुन्टो हल्लाउँदै सेकेन्ड धिमाल सरासर घर गयो र माछा केलाउन थाल्यो । माछा समात्न मात्र होइन, पकाउन पनि सिपालु थियो सेकेन्ड धिमाल । त्यो कला उसलाई आमाले सिकाएकी थिइन् । धेरै समयपछि चेतन सरसँग माछाको सितनसँग रक्सी खाने मेलो जुरेको थियो उसलाई । चेतन सरलाई मनका कुरा केही सुनाउनु प-यो भने यस्तो मेलो जुथ्र्यो । पछिल्लोपटक सुनिता र आफ्नो बारेमा सुनाउँदा यस्तै मेलो जुराएको थियो चेतन सरले ।
सेकेन्ड धिमालले आज माछा अझ मन लगाएर पकायो । मसला खासै नभए पनि बाहिरसम्मै बास्ना आइरहेको थियो । उसले पकाएको माछाको विशेषता भनेकै यही थियो । झन्डै एक घण्टापछि चेतन सर हातमा रक्सीको बोतल बोकेर आइपुग्यो । अनि ५० वाटको मधुरो चिमको उज्यालोमा उनीहरूको माछा पार्टी सुरु भयो ।
सेकेन्ड अब तिमी बिहे गर । म केटी मिलाइदिन्छु । रक्सी चढ्दै गएपछि चेतन सरले भन्यो ।
बिहेको कुरा अनि केटी पनि मिलाइदिन्छु भन्ने सरकारको कुरा सुनेर सेकेन्ड धिमाललाई अचानक करेन्ट लागेजस्तै भयो । उसले पनि बिहे गर्न नचाहेको कहाँ हो र ? केटी नमिलेरै विवाह हुन सकेको थिएन । त्यसैले उसले चेतन सरको कुरामा कुनै जबाफ फर्काएन, फिस्स हाँसिदियो मात्र ।
तिमीले नपत्याएको ? मैले साँच्चिकै भनेको के, तिमी र सुनिताको बिहे गराइदिन्छु म । चेतनले फेरि भन्यो ।
सुनिताको नाम सुनेर ट्वाल्ल प-यो सेकेन्ड । अघि बिहेको कुरा उठ्दा जागेको थोरै आशा पनि सेलायो उसको अब । सुनिताको कुरा झिकेर चेतनले आफूलाई उडाएको उसलाई कति पनि मन परेन ।
तर चेतन सरले सुनिता र सेकेन्ड धिमालको विवाह गराइदिने कुरा रक्सीको सुरमा भनेको थिएन । उसले सम्झाउँदै र बुझाउँदै गएपछि रक्सीको मातसँगै सेकेन्ड धिमाललाई कता कता आफूमा बैँसको मात पनि चढ्दै गएको अनुभव हुँदै गयो । बीस वर्ष पनि नकटेकी रहरलाग्दो सुनितालाई पाउने भएपछि उसको मन उडेर अर्कै ग्रहमा पुगिसकेको थियो । सपना हो कि विपना छुट्याउन मुस्किल परिरहेको थियो उसलाई ।
००००
नभन्दै ३८ वर्षको उमेरमा सेकेन्ड धिमालको लगन जु¥यो । गाउँकै राम्रीमा पर्ने १९ वर्षकी गोरी सुनितालाई स्वास्नी बनाउन पाउँदा उसलाई अझै विपना नै हो भनेर पत्याउन गाह्रो परिरहेको थियो । गाउँका केटाहरू सेकेन्ड धिमालसँग आरिसले जल्न थालिसकेका थिए । उनीहरू भन्थे– घुसघुसे सेकेन्डले नपत्याउने गरेर सिक्सर मा¥यो यार । कतिपयले सुनिताले षड्यन्त्र गर्न विवाहको नाटक रचेको पनि भन्न भ्याए । तर जे भए पनि सुनिता उसकी स्वास्नी बनिसकेकी थिइन् । यसैमा मख्ख थियो ऊ । त्यसमाथि हिजोसम्म उसलाई सेकेन्ड भनेर उडाउनेहरूको मन डाहाले जलेको देख्दा उसको मनमा बेग्लै शीतल अनुभूति भइरहेको थियो । मानौँ संसारकै ठूलो युद्ध जिते जस्तो लागेको थियो उसलाई ।
आजभोलि भन्दाभन्दै सुनिताको जिउ फुल्दै जान थाल्यो । एक दिन सेकेन्ड धिमालले गाउँको अरूकै मुखबाट सुन्यो– सेकेन्ड धिमालकी स्वास्नी बच्चा पाउने भाकी छे । गोज्याङ्ग्रो भन्ने ठानेको त्यो मोरो सेकेन्ड त निकै फास्ट पो निक्लियो ।
यस मामिलामा सेकेन्ड मात्र होइन उसकी स्वास्नी सुनिता अझ फास्ट निस्किन् । किनभने उनले पाँच महिनामै घोर्ले छोरो पाएर सेकेन्डलाई मात्र छक्याएन दुनियाँलाई नै चकित पारिदिइन् । अरूले के भने त्यसमा सेकेन्डलाई कुनै चासो थिएन, ऊ त यति चाँडो बाउ बन्न पाएकोमा त्यसै त्यसै दङ्ग थियो ।
तर बच्चा जन्माएको तेस्रो दिनमै नाबालक छोरालाई छोडेर सुनिता एकाएक बेपत्ता भइन् । त्यही दिनबाट चेतन सर पनि गाउँबाट हरायो । आफन्त र गाउँलेले पुलिसमा नालिस हाल्न सुझाए सेकेन्डलाई तर उसले खै किन हो यसपटक कुनै चासो नै देखाएन ।
काभ्रे (तेमाल)
हाल जोरपाटी, काठमाडौँ ।