• २५ चैत २०८१, सोमबार

शिक्षा सुधार गर्न सिकाइ मेलाको तयारी

blog

ताप्लेजुङको मैवाखोला गाउँपालिका ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २४ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर तथा शिक्षा सुधारमा केन्द्रित बृहत् सिकाइ मेलाको तयारी गरेको छ। गाउँपालिकाले यही चैत २७ गते सीपमा आधारित बृहत् सिकाइ मेला आयोजना गर्ने भएको हो। 

पालिकाभरका अभिभावक, शिक्षक, विद्यार्थी, बुद्धिजीवी लगायतको सहभागितामा सिकाइ मेला आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो। अध्यक्ष वनेमका अनुसार खस्किँदो शैक्षिक गुणस्तर सुधार गर्ने पहलस्वरूप सिकाइ मेलाको आयोजना गरिएको हो। सिकाइ मेलाले शिक्षा सुधारमा सहयोग पुग्ने अपेक्षा राखिएको वनेमको भनाइ छ।

शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्य राखेरै बृहत् शैक्षिक सम्मेलन लगायतका कार्यक्रम (गतिविधि) गर्दै आएको गाउँपालिकाले अहिले शिक्षकलाई सिकाइमैत्री वातावरण निर्माण केन्द्रित तालिम पनि दिँदै आएको छ। ‘गुणस्तरीय शिक्षाका लागि सिकाइमैत्री विद्यालय’ भन्ने नारासहित आधारभूत तहका शिक्षकको सहभागितामा सिकाइमैत्री तालिम सञ्चालन गरिँदै आएको गाउँपालिकाले जनाएको छ।

सोमबार सम्पन्न हुने सिकाइमैत्री तालिममा आधारभूत तह (कक्षा १–८) सञ्चालित पालिकाभरका विद्यालयमा कार्यरत ११५ जना शिक्षक सहभागी भएका गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले जानकारी दिनुभयो। तालिमको सहजीकरण राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरे, विषय विज्ञ अर्जुन भट्ट र कमला देवकोटाले गरिरहनुभएको तामाङले बताउनुभयो। 

यसअघि गाउँपालिकाले पालिकाभरका बाल विकास केन्द्रका शिक्षक (बाल विकास सहयोगी कार्यकर्ता) लाई ६५ दिने मन्टेस्वरी सिकाइसम्बन्धी तालिम प्रदान गरेको थियो। चैत पहिलो साता सम्पन्न भएको सो तालिममा पालिकाभरका २६ जना बाल विकास सहयोगी कार्यकर्ताले सहभागिता जनाएका थिए।

त्यस्तै गत जेठ महिनामा गुणस्तरीय शिक्षा र शैक्षिक सुधारको योजना बनाई गाउँपालिकाले बृहत् शैक्षिक सम्मेलनको आयोजना गरेको थियो। पालिकाभरका अभिभावक, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाको सहभागितामा शैक्षिक सम्मेलन सम्पन्न गरिएको थियो। यता सिकाइ मैत्रीलगायत गुणस्तरीय शिक्षा तथा शैक्षिक सुधार केन्द्रित तालिमबाट प्राप्त सीप र दक्षतालाई आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष वनेमले बताउनुभयो। उहाँका अनुसार नयाँ शैक्षिक सत्रदेखि शिक्षकहरूले तालिमबाट प्राप्त सीप र दक्षतामा आधारित शिक्षण गर्नुपर्ने छ।