• २७ चैत २०८१, बुधबार

उद्यमशीलता प्रवर्धनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

blog

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ इन्द्रेणी बङ्गुर फार्मको अवलोकन गर्नुहुँदै । तिस्बर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा), चैत २२ गते ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्यमशीलताको प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–९ मा रहेको इन्द्रेणी बङ्गुर फार्मको बिहीबार साँझ स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री गुरुङले उत्पादन बढाउन सरकारले विभिन्न काम गदमन्त्री आएको बताउनुभयो ।

काम गर्न खोज्ने युवालाई सहयोग गर्नुपर्ने भन्दै मन्त्री गुरुङले बैँकले धितोलाई मात्रै प्राथमिकता दिन नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “काम गर्ने युवालाई प्रोजेक्ट बेसमा लगानी गर्नुपर्छ ।”

स्वदेशमा नै केही गर्छु भन्ने युवालाई ऋण नदिनु भनेको हात खुट्टा बाँधेर दौडी भने जस्तै भएको उहाँको भनाइ छ ।

अनुगमनका क्रममा बङ्गुर फार्मका सञ्चालक भीम लुइटेलले गर्नुभएको गुनासोलाई तत्कालै सम्बोधन गर्ने प्रयास गर्नुभएका मन्त्री गुरुङले बैँक तथा सम्बन्धित निकायमा फोन गर्नुभएको थियो । 

केही वर्ष पहिले बङ्गुरका एक हजार चार सय बच्चा एकै पटक मरेपछि आफू माथि उठ्न नसकेको सञ्चालक लुइटेलले मन्त्री गुरुङसमक्ष दुखेसो पोख्नुभएको थियो । आफूले सञ्चालन गरेकोे फार्म देश कै ठुलो मध्येको रहेको लुइटेलको भनाइ छ ।