• २१ चैत २०८१, बिहिबार

किसानको उत्पादन बजारीकरण गर्न ‘कृषि एम्बुलेन्स’

blog

कृषि उत्पादन बजारीकरणका लागि सहकारीलाई कृषि एम्बुलेन्स हस्तान्तरण गर्दै नगर प्रमुख लगायत । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, चैत १९ गते । बेसीशहर नगरपालिका –२ टारगाउँका वीरबहादुर विकले आफ्नो बारीमा गोलभेँडा र तरकारी खेती उत्पादन गर्नुहुन्छ । तर उत्पादित तरकारी किन्नकै लागि भनेर उहाँको बारीसम्म व्यापारी पुग्दैनन् ।

उत्पादित तरकारी बिक्री गर्न उहाँलाई तीन किलोमिटर टाढा बेसीसहर बजारमा पुग्नुपथ्र्यो भने उत्पादित तरकारीले उचित मूल्यसमेत पाउन मुस्किल थियो । बेसीसहर –१० बाँझाखेतका किसान केशबहादुर गुरुङको पीडा पनि विकको जस्तै छ । 

आफ्नो बारीमा उत्पादन गरेको घिरौला, काक्रा, लौका, सिमी, बोडी र गोलभेँडा बिक्रीका लागि उहाँ पनि पाँच किलोमिटरको दूरी पार गर्दै बेसीसहर बजार आइपुग्नु पर्छ ।

अहिले बेसीसहर नगरपालिकाले उत्पादित तरकारी विक्रीका लागि किसान घर र ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएपछि उत्पादित तरकारी बिक्री गर्न किसानलाई सहज भएको छ । 

नगरपालिका भित्रका किसानले उत्पादन गरेका तरकारी, फलफल तथा अन्य उत्पादन बजारसम्म ल्याउन नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । नगरपालिकाले एकता कृषि सहकारी संस्थालाई कृषि एम्बुलेन्स सञ्चालनको जिम्मेवारी दिएको छ ।

बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले एकता कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर घिमिरेलाई कृषि एम्बुलेन्सको चावि हस्तान्तरण गरी सञ्चालनको जिम्मेवारी दिनुभयो । स्वामित्व नगरपालिकामै रहनेगरी आगामी असार मसान्तसम्म सञ्चालन तथा व्यबस्थान एकता कृषि सहकारी संस्थाले गर्ने सम्झौता भएको बेसीशहर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले बताउनुभयो ।

व्यवसायी युवाहरुले गठन गरेको एकता कृषि सहकारी संस्थाले केही समयअघि बेसीशहर –८ ठाडो लाइनमा ‘किसान घर’ सञ्चालनमा ल्याएको छ । किसानले स्थानीय क्षेत्रमा गरेको उत्पादन खासगरी तरकारीलाई उचित मूल्यमा बिक्री गर्न र उपभोक्तालाई पनि सस्तो मूल्यमा खरिद गर्न सहज होस् भन्ने उद्देश्यले किसान घर सञ्चालन गरिएको हो । 

कृषि एम्बुलेन्स भएपछि किसानका उत्पादन बजारमा ल्याउन सहज हुने र तालिका बनाएर गाउँ–गाउँबाट किसानका उत्पादन संकलन गरिने एकता कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर घिमिरले बताउनुभयो । किसानका उत्पादन उपभोक्ताको भान्सासम्म पुगाउन बजारका चोक–चोकमा कृषि एम्वुलेन्समार्फत तरकारी बेच्ने उहाँले बताउनुभयो ।