• २० चैत २०८१, बुधबार

आदेश ढिलाइले सडक निर्माण प्रभावित

blog

चिसापानी–कुइने सडक । तस्बिर : रमित पाण्डेय

धनगढी समाचारदाता

धनगढी, चैत १९ गते । रुख कटान आदेश नआउँदा कैलालीमा चिसापानी–कुइने कालोपत्रे सडक निर्माण प्रभावित भएको छ । सडक अधिकार क्षेत्रमा परेका रुख नहटाइएकाले निर्माण कम्पनीले काम अगाडि बढाउन नसकेको हो । सो सडकको ८.३ किलोमिटर खण्ड कालोपत्रेका लागि २०७९ साउन ३ गते नै ठेक्का सम्झौता भएको थियो । कालोपत्रे सडक निर्माणको समयावधि सकिनै लाग्दासम्म काम अगाडि बढ्न सकेको छैन । आउँदो असारमा सडक निर्माणको ठेक्का समयावधि सकिने सडक डिभिजन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । 

सडक कालोपत्रे गर्ने खण्डमा ४७२ वटा रुख छन् । साललगायत विभिन्न प्रजातिका ती रुख काट्नुपर्ने छ । रुख कटानको आदेश नमिलेकाले निर्माण कम्पनीले कालोपत्रेको काम अगाडि बढाउन नसकेको सडक डिभिजन कार्यालयका साइट इन्जिनियर चित्र चौलागाईंले बताउनुभयो । 

चौलागाईंले भन्नुभयो, “रुख कटान नगरी गर्न मिल्ने कामहरू निर्माण कम्पनीले गरिरहेको छ तर सडक चौडा बनाउने, कालोपत्रे गर्नेलगायतका अन्य काम हुन सकिरहेका छैनन् । रुख काट्नै बाँकी छ ।” 

सङ्घीय सरकारको १२ करोड ८० लाख रुपियाँ लगानीमा चिसापानी–कुइने सडक कालोपत्रे हुने जनाइएको छ । यो सडक निर्माणका लागि दिव्यज्योति–शाही जेभीले ठेक्का पाएको छ । रुख कटान आदेश नमिलेका कारण कालोपत्रेको काम सुरु नहुँदै ठेक्काको समयावधि सकिन लागेको इन्जिनियर चौलागाईंले बताउनुभयो । यो सडकमा डबल बिटुमिन सरफेस ट्रिटमेन्ट (डिबिएसटी) कालोपत्रे हुने जनाइएको छ । 

चिसापानी–कुइने सडकखण्डमा पर्ने रुख कटान आदेश मन्त्रीपरिषद्ले निर्णय गरिसकेको छ । अब वन विभागसँग सम्झौता गर्न बाँकी रहेको सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले बताउनुभयो । वन विभागसँग रुख कटानको सम्झौता गर्नकै लागि आफू काठमाडौँमा रहेको जनाउँदै उहाँले भन्नुभयो, “विभागले सम्झौता गरेर डिभिजन वन कार्यालय पहलमानपुरलाई पठाउँछ । अनि त्यहाँबाट सम्झौता लिएर मात्रै रुख कटान गर्ने हो ।”

कर्णाली नदीको तिरैतिर रहेको यो सडक कैलालीको पहाडी क्षेत्रमा पर्ने मोहन्याल गाउँपालिकासम्म पुग्ने बाटो हो । यो बाटो भएर अछामदेखि सुर्खेतका स्थानीयले समेत तराईसम्म ओहोरदोहोर गर्ने गरेका छन् । कालोपत्रे बाटो नबनेका कारण स्थानीयले ओहोरदोहोरमा बर्सौंदेखि सास्ती भोग्नु परेको छ ।