• २० चैत २०८१, बुधबार

बाघको आक्रमणले बालकको मृत्यु

blog

सन्तोषी रावल

बाजुरा, चैत १८ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा आइतबार साँझ बाघको आक्रमणबाट आठ वर्षीय बालकको ज्यान गएको छ । मृतक बालकको नाम बिजय रावत रहेको स्थानीयले बताएका छन् । 

खप्तड छेडेदह गाउँपालिका वडा –३, धुर्ताेला गाउँका निवासी दिल्लीबहादुर रावतका छोरालाई बाघले आक्रमण गरेको थियो । प्रहरीका अनुसार बालक आइतबार साँझ घरबाट करिब २ किलोमिटर टाढा छानोको आँगनमा रहेको पानीधारामा बाघको आक्रमणमा परेका थिए । 

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनकबहादुर बोहोराका अनुसार, बालक पानी पिउन जाँदा बाघले उनलाई आक्रमण गरेको थियो । घटनाको सूचना पाउँदासम्म स्थानीयहरूले होहल्ला गर्दा बाघ बालकलाई छोडेर भागेको थियो । बालकको घटनास्थलमा मृत्यु भएको बोहोराले जानकारी दिनुभयो । 

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी मौरेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।