राजन रावत
हुम्ला, चैत १८ गते । हिमाली जिल्लामा खेती योग्य जमिन मध्य २९ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । कतै भिरालो र त कतै सिँचाइका लागि पानीको स्रोत नभएका कारण थोरै जग्गामा मात्र सिँचाइ सुविधा पुगेको हो ।
जिल्लाका कुल खेती योग्य जमिन मध्य २९ दशमलव १२ प्रतिशत जमिन आंसिक र बाह्रै महिना सिँचाइ सुविधा हुने गरेका कृषि विकास कार्यालयका प्रमुख चुणमणी पन्तले बताउनुभयो । खेती योग्य जमिन, तर आकाशे पानीको भरमा खेती गरिने जग्गाको क्षेत्रफल ७० दशमलव ८६ हेक्टर रहेको छ ।
आंशिक सिँचाइ हुने जमिन ६८२ हेक्टर रहेको छ भने ४२२ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइको सुविधा हुने गरेको उहाँले बताउनुभयो । जिल्लाभर एक हजार १०४ हेक्टर जमिनमा दुई किसिमको सिँचाइ सुविधा हुने गरेको छ ।
हुम्ला जिल्लामा कुल खेती योग्य जमिनको क्षेत्रफल आठ हजार ३५८ हेक्टर रहेको छ । त्यसमा खेती गरिएको जमिन चार हजार ६६८ हेक्टर रहेको छ । यस आर्थिक वर्षका कार्यालयद्वारा ८८ वटा साना सिँचाइका कार्यक्रमहरू रहेका कारण सिंचित जमिनको क्षेत्रफलमा केही वृद्धि हुनेछ ।
सिमकोट गाउँपालिका–३ का किसान च्यामा लामाले आकाशे पानीको भरमा खेती गर्नुपर्ने भएका कारण बालीको उत्पादन पनि आकाशे पानीको भर पर्ने बताउनुभयो । उहाँले गाउँमा थोरै जमिनमा मात्र सिँचाइ सुविधा भएको तर अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने उहाँको भनाइ छ ।
आकाशे पानीको भरमा खेती गर्नु परेका कारण खडेरीको बेला बाली नै डढेर जाने चिन्ता बढी हुने गरेको र यो समस्या बारम्बर किसानहरूले भोग्ने गरेको उहाँले बताउनुभयो ।