• १३ असोज २०८१, आइतबार

‘प्राथमिकतामा कृषिलाई राख्छौँ’

blog

धनगढी समाचारदाता

धनगढी, जेठ २१ गते  । स्थानीय तहको निर्वाचनभन्दा अगाडि चित्रबहादुर चौधरीलाई कमैले चिन्थे । प्राविधिक क्षेत्रमा काम गर्ने उहाँको राजनीतिसँग घुलमिल थिएन । जोशीपुर गाउँपालिका–५, सिमरानावासी चौधरी सोही गाउँपालिकाको अध्यक्ष बन्नुभएको छ । पञ्चायतकालदेखि नेपाली कांग्रेसले जित्दै आएको ठाउँमा नवगठित नागरिक उन्मुक्ति पार्टीबाट चुनाव जितेपछि चौधरीको चर्चा एकाएक बढेको छ । सिभिल इन्जिनयरिङ अध्ययन गर्नुभएका उहाँले अब आफ्नो प्राविधिक ज्ञानलाई जोशीपुरको विकासमा प्रयोग गर्ने उल्लेख गर्नुभयो । 

“मलाई निर्माणसम्बन्धी धेरै कुराको ज्ञान छ,” उहाँले भन्नुभयो, “त्यसैले भौतिक पूर्वाधार निर्माणको हकमा म आफैँ प्रत्यक्ष संलग्न भएर विकास निर्माणको काम गर्छु ।” नवनिर्वाचित अध्यक्ष चौधरीका अनुसार सबै बाटोमा ग्राभेल गर्ने हो भने पाँच वर्षसम्मको गाउँपालिकाको बजेटले पुग्दैन, त्यसैले ग्राभेल गर्ने बजेटले टिप्पर र डोजर खरिद गरेर सबै बाटोमा पानी पिच गर्ने मेरो योजना छ, उहाँले भन्नुभयो ।

“यसो गरेमा सबै बाटोको अवस्था सुधार हुन सक्छ ।” उहाँले यी सबै काम गाउँपालिकाको प्रत्यक्ष निगरानीमा गर्ने बताउनुभयो । “पूर्वाधार विकासको काम हामी उपभोक्ता समितिलाई दिने छैनौँ । सबै गाउँपालिकाबाटै गर्नेछौँ,” उहाँले भन्नुभयो । यसैगरी गाउँपालिकामा हुने हरेक कालोपत्रेको काम तीन वर्षको ग्यारेन्टी निश्चित गरेर मात्रै गराउने उहाँको भनाइ छ ।