• १८ असार २०८१, मङ्गलबार

जातीय भेदभाव अन्त्य हुनुपर्छ : प्रम

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २१ गते । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु अपमानजनक कार्य भएको बताउनुभएको छ ।जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री देउवाले शुभकामना सन्देश दिँदै प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुने गरी जिउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।

उहाँले समाजबाट सबै प्रकारका विभेद अन्त्य गर्नका लागि सबै सरोकारवालाहरूसँग आग्रह पनि गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सन्देशमा जातीय भेदभाव र छुवाछूतको व्यवहार सभ्य समाजको कलङ्कको रूपमा रहेकाले विभेद अन्त्यका लागि बनेका कानुनको सार्थक कार्यान्वयनमा जोड दिनुभएको छ । उहाँले सन्देशमा मानव सृष्टि र सभ्यताको विकास क्रमसँगै प्रारम्भ भएको विभेद, विकृति र विसङ्गतिले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई गहिरो नकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभएको छ ।