• १७ चैत २०८१, आइतबार

प्रतिकिलो ६५ रुपियाँले घट्यो रिट्ठाको भाउ, किसान मारमा

blog

बैतडीका एक किसानले बिक्री गर्न जम्मा गरेर राखेको रिट्ठा । तस्बिर: केशब

केशवराज भट्ट

बैतडी, चैत १४ गते । चार वर्षदेखि अकासिएको रिट्ठाको भाउ यो वर्ष  दोब्बरले घटेको छ ।  लगातार पाइरहेको भाउ एक्कासि घटेपछि कृषकहरू निराश भएका  छ ।  यो वर्ष स्थानीय बजारमा प्रति किलो २५ रुपियाँमा रिट्ठा खरिद भइरहेको स्थानीय सङ्कलनकर्ता वीरेन्द्र भट्टले बताउनुभयो । विगतका अघिल्लो वर्षहरूमा रिट्ठा ९० रुपियाँ प्रतिकिलोमा विक्री हुने गरेकाे थियो । 

बैतडीका गोकुलेश्वर, खोचेलेक, खोड्पे, सतबाज, सिल्लेगडा, पाटन,  मेलौली, देहिमाण्डौ, श्रीभावरलगायतका क्षेत्र व्यापारीले बढी मात्रामा रिट्ठा सङ्कलन गर्ने बजार हुन । यस्तै दार्चुलाको गोकुलेश्वर, पस्ती र लटिनाथसम्म रिट्ठा सङ्कलन बढी हुने गरेको केदार भूमिराज ट्रेड एन्ड सप्लायर्सका सञ्चालक भट्टले बताउनुभयो  । 

यहाँबाट रिट्ठा निकासी हुने ठाउँ नेपालगन्ज रहेको भट्टले बताउनुभयो । नेपालगन्जबाट भारत निर्यात हुने गरेको ठेकेदार भट्ट बताउँछ । साबुन र स्याम्पु बनाउन प्रयोगमा आउँछ । नेपालगन्जका व्यापारी राजेन्द्र सेठीले आफूहरूले  नेपालगन्जबाट खरिदका लागि  स्थानीय व्यापारीहरूलाई जिम्मेवारी  दिने गरेको बताउनुभयो । यो वर्ष भारतबाटै भाउ घटेर आएको सेठीले बताउनुभयो ।

  दुई र तीन वर्ष यता  भारतमै धेरै रिट्ठा सङ्कलन भएकाले भाउ घटेको सङ्कलनकर्ता भट्टले बताउनुभयो । नेपालगन्जमा यसपालि प्रतिकिलो मूल्य ३५ रुपियाँ  हाराहारी पुगेको भट्टले बताउनुभयो ।  यस्तै गौरीशङ्कर सप्लायर्सका अर्का ठेकेदार दीपक राज भट्टले भने  यो वर्ष भारतमै रिट्ठा बढी उत्पादन  भएको र नेपाली रिट्ठाको  गुणस्तर कम भएको भनेर मूल्य घटाएको खबर पाएको बताउनुभयो ।

 बैतडी, दार्चुला, बझाङलगायतका पहाडी जिल्लाबाट रिट्ठा निकासी हुने गरेको छ । स्थानीय स्तरमा सर्वसाधारणले ओखलमा कुटेर र पिसेर कपडा धुन र नुहाउन रिट्ठा प्रयोग गर्ने गरेका पाटन नगरपालिकाका बसन्ती भट्टले बताउनुभयो । तर अचेल यो चलन हराइसकेको छ । रसायन मिसाएको आयातित साबुन भन्दा यसले सरसफाइ गरे कपालको चाया र छालाजन्य रोग निको हुने गरेको उहाँको भनाO छ ।

 मङ्सिरदेखि फागुनसम्म रिट्ठा सङ्कलन र बिक्री गरिने समय रहेकोले अहिले करिब निकासी सकिने बेला  भएको सङ्कलनकर्ता भट्टले बताउनुभयो । उहाँले भन्नुभयो,  मसँग गत बर्सकै १२ टन रिट्ठा स्टक छ । यो वर्ष पनि धेरै रिट्ठा कलेक्सन गरेको छु तर  भाउ घटेर आएकोले चिन्ता लागेको छ । धेरै समय राखे गुणस्तर बिग्रिन्छ । यही भाउमा नेपालगन्ज पुर्‍याउने तयारी छ ।

 बैतडी र दार्चुलाका धेरैजसो क्षेत्रमा व्यावसायिक रूपमा रिट्ठा खेती सुरु गरिएको अर्का सङ्कलनकर्ता ललितबहादुर चन्दले बताउनुभयो । भाउ कम भएपछि किसानले रिट्ठा बेच्न इच्छा गरेका पनि छैनन् । दार्चुलाको शैल्यशिखर नगरपालिका ४ का किसान धर्मनन्द भट्टले मूल्य घटेका कारण रिट्ठा नबेचेर राखेको बताउनुभयो ।  पोहोर परार नुन तेल खर्च आउँथ्यो यसपालि भाउ कम हुँदा त बेच्न मन नै लागेको छैन, उहाँले भन्नुभयो । बैतडीबाट मात्रै यो वर्ष ५० टन रिट्ठा निकासी भएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताउनुभयो । यो वर्ष मात्रै रिट्ठाबाट १ लाख ४३ हजार एक सय रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी जोशीले बताउनुभयो ।