• १७ चैत २०८१, आइतबार

वनमन्त्री शाही जर्मनीमा भेटघाटमा व्यस्त

blog

 काठमाडौँ, चैत १३ गते । जर्मनीको भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ ।

बर्लिनमा आयोजित पिटर्सवर्ग जलवायु संवादमा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँले सो अवसरमा आज जर्मनीका सङ्घीय विदेशमन्त्री अन्नालेना बेयरबोक, ब्राजिलका कोप–३० का प्रमुख आन्द्रे कोर्रिया दो लागो, संयुक्त राष्ट्रङ्घका महासचिवका जलवायु विशेष सल्लाहकार सेल्विन हार्ट, संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सचिवालयका कार्यकारी प्रमुख साइमन स्टिल, साथै, चिली र संयुक्त अधिराज्यका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्नुभएको थियोे ।

भेट्मा उहाँले नेपालका जलवायु परिवर्तनसम्बन्धी प्राथमिकताबारे छलफल गर्नुका साथै सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गर्नुभएको मन्त्री शाहीको सचिवालयले जनाएको छ ।

पिटर्सवर्ग संवादमा सहभागी हुन मन्त्री शाही यही चैत १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । विगत १४ वर्षदेखि जर्मनी सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सवर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ ।

जलवायु वार्तामा विशेष भूमिका रहेका देशहरूलाई आमन्त्रित गरिने यस संवादको १५औँ संस्करणमा पहिलो पटक नेपाल सरकारका तर्फबाट वनमन्त्री शाही सहभागी हुनुभएको हो । रासस