• १५ साउन २०८२, बिहिबार

ओलम्पिकको तदर्थ कमिटी छिट्टै : मन्त्री चौधरी

blog

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी ।

काठमाडौँ, साउन १४ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ कमिटी छिट्टै गठन गर्ने बताउनुभएको छ ।

नेपाल एथलेटिक्स सङ्घको चुनावी साधारण सभाको बुधबार काठमाडौँमा उद्घाटन गर्दै मन्त्री चौधरीले नेपालको कानुन नमान्ने र खेलकुदमा सँधै विवाद निम्त्याउने ओलम्पिकमा तदर्थ कमिटी गठन गरेर अगाडि बड्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले प्रधानामन्त्री केपी शर्मा ओलीको निर्देशनमा नै ओलम्पिकको तदर्थ कमिटी गठन गर्न लागेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ओलम्पिक कमिटीमा देखिएको विवादको विषयमा प्रधानमन्त्रीको निर्देशन अनुसार नै तदर्थ कमिटी गठन गर्न लागिएको हो । ओलम्पिकमा आवद्ध २२ राष्ट्रिय खेल सङ्घका पदाधिकारी र मन्त्रालयले प्रधानमन्त्रीलाई भेटेर ओलम्पिक विवादबारे स्पस्ट जानकारी गराएका छौँ ।’’ 

उहाँले प्रधानमन्त्रीले खेलकुदका लागि दिनुभएको निर्देशन छिट्टै सार्वजनिक गरिने पनि बताउनुभयो । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले यसअघिनै जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको एनओसीलाई मान्यता नदिने जनाउँदै आएको थियो । 

एथलेटिक्स सङ्घको चुनावी साधारण सभाले बुधबार नै चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ । साधारण सभामा बागमती र गण्डकीबाहेक पाँच प्रदशेका प्रतिनिधिको सहभागिता रहेको छ ।