नवराज नेपाली
बागलुङ (गलकोट), चैत १३ गते । गोठभरी भएका गाई र भैँसीलाई घाँससहित दानापानी दिन व्यस्त हुनुहुन्छ, नन्दलाल सापकोटा । बागलुङ नगरपालिका–४ उपल्लाचौर आमबोटमा उहाँले विगत १४ वर्षदेखि व्यवसायीक रुपमा गाई, भैँसी पाल्दै आउनुभएको छ । २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झर्नुभएका सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक हुनुहुन्छ ।
उहाँले फार्ममा गाईभैँसी थपघट भइरहने बताउनुभयो । ‘‘अहिले गोठमा ३८ भैँसी र सात गाई छन्, यसमा थपघट भइरहन्छ ।’’ सापकोटा भन्नुहुन्छ, ‘‘गाईभैँसी किनबेच भइरहने भएकाले थपघट हुन्छ ।’’
सापकोटाले आफ्नो र केही भाडाका गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ सञ्चालनमा ल्याउनुभएको हो । यो फार्मबाट दैनिक १६० लिटर दुध बिक्री गर्दै आउनुभएको छ । फार्मबाट उत्पादित दुध बागलुङ बाजरमा नै खपत हुने गर्दछ । फार्ममा उत्पादित दुध बिक्रीका लागि बाहिर लानुनपर्ने उहाँको भनाइ छ ।
दसैंको समयमा दुध कम बिक्री हुँदा त्यसबाट घिउ लगायतका विभिन्न परिकार बनाउने गरेको उहाँ बताउनुहुन्छ । सापकोटा कुनै समय रोजीरोटीका लागि भारत पुग्नुभएको थियोे ।
करिब आठ वर्ष भारतको मेघालयमा बिताएका सापकोटा त्यहाँबाट फर्केपछि व्यवसायीक रुपमा भैँसी पाल्न थाल्नुभएको हो । मेघालयमा एक नेपालीले दुध बिक्री गरेको देखेपछि आफुलाई पनि रुची लागेको र नेपाल फर्केपछि गाई भैँसी पाल्न थालेका हुन् ।
सापकोटाले अहिले पाँच जनालाई प्रत्यक्ष रोजगारी समेत दिँदै आउनुभएको छ । ‘‘यो फार्ममा परिवार सबैले सघाउँदै आएका छन्, यस बाहेक अन्य पाँच जनाले रोजगार पाएका छन् ।’’ उहाँले भन्नुभयो, ‘‘यसले रोजगार अभिवृद्धि गर्नका लागि पनि सहयोग पुर्याएको छ ।’’
तर उहाँले गाई भैँसीलाई रोग लाग्दा भने समयमै उपचार पाउन समस्या हुने गरेको बताउनुहुन्छ । कृषि क्षेत्रमा थुप्रै चुनौति छन् । यसका बावजुद पनि सापकोटाले यसलाई अवसरका रुपमा प्रयोग गर्दै राम्रो कमाई गर्दै आउनुभएको छ ।