गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १३ गते । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशव्यापी रूपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार ३९२ जना लाभान्वित भएका छन् । ग्लोबल मनी विक २०२५ का अवसरमा उक्त बैङ्कले सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
अन्तर्राष्ट्रिय रूपमा हरेक वर्ष मार्च महिनामा तेस्रो हप्ता मनाइने ग्लोबल मनी विक बैङ्कले चैत ४ देखि १० गतेसम्म साताव्यापी सञ्चालन गरेको थियो । बैङ्कले विभिन्न स्कुल तथा कलेजका विद्यार्थीको सहभागितामा वित्तीय चेतना अभिवृद्धि गरेको जनाएको छ ।अभियान अन्तर्गत बैङ्किङसँग कारोबार गर्दा हुने फाइदा, डिजिटल बैङ्किङ, क्युआर, पोस सेवा, आरबिबी स्मार्ट बैङ्किङ, इन्टरनेट बैङ्किङ, पिन तथा पासवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।