काठमाडौँ, चैत १३ गते । यतिबेलाको मौसममा पुतलीको फुलबाट धमाधम लार्भा निकिँस्दै छन् । फागुन नलाग्दै पलाएका बोटबिरुवाका पालुवा करिब करिब छिप्पिसकेका छन् । ती लार्भाले खाने पालुवा समय अगावै पलाउँदा खानेकुराको जोहो गर्न उनीहरूलाई कठिन हुन थालेको छ । वन तथा वातावरण मन्त्रालयका इकोलोजिस्ट डा. प्रकाशसिंह थापाका अनुसार बढ्दो तापक्रमसँगै बदलिँदो जलवायु परिवर्तनको असर पुतलीको जीवनचक्रमा पर्न थालेको छ ।
हिउँद तातो हुँदै गएको विभिन्न अध्ययनहरूले पनि देखाएको छ, जसले बोटबिरुवामा पालुवा र फूल छिट्टै लाग्न थालेका छन् । उहाँले भन्नुभयो, “पुतलीको पहिलो सानो लार्भाले खाने बेलामा तिनका पात छिप्पिसकेको हुन्छ र खान सक्दैन, त्यसले उसको जीवन सङ्कटमा पर्न थालेको छ ।” उसको खानेकुराको चक्रमा असर पर्दा पुतली लार्भा कमलो पातको खोजीमा भौँतारिँदै पुतली नहुँदै मर्न सक्ने खतरा बढेको छ । पुतलीको जीवनचक्रमा पहिले पुतलीले पारेको फुल सुहाउँदिलो न्यानो मौसममा लार्भामा परिणत हुन्छ । सानोबाट मध्यम र ठुलो हुँदै लार्भाको चार चरणको काँचुली फेरिसकेपछि पाँचौँ चरणमा प्युपामा परिणत भएको करिब एक सातामा वयस्क पुतली बनेर निस्कन्छ । यी सबै चरण पार गर्न वातावरण सुहाउँदिलो भएमा कम्तीमा चार हप्ता लाग्छ ।
पुतली नेपालको पारिस्थितिक प्रणालीको महत्वपूर्ण चरका रूपमा रहेको छ । पुतली नहुँदो हो त ठुला साना बोटबिरुवामा फूल तथा फल लाग्नै कठिन हुन्थ्यो । पुतली एउटा बोटदेखि अर्को बोट अनि एउटा फूलदेखि अर्को फूलमा रमाउँदै हिँड्ने सुन्दर जीव हो । पुतलीविज्ञ भैया खनालले भन्नुभयो, “मात्र रमाउने काम यसले गर्दैन, बिरुवामा फूल र फल लगाउने महत्वपूर्ण काम पोलिनेसन गराउने सारथि पुतली हुन् ।” निशाचर र दिवाचर दुईथरीका पुतली प्रकृतिमा पाइन्छन् । दिवाचर दिउँसो सक्रिय हुन्छन् भने निशाचर रातमा बढी सक्रिय हुन्छन् । रातमा सक्रिय हुने प्रायः मोथ पुतली रहेको उहाँले औँल्याउनुभयो ।
उहाँका अनुसार हिउँद सकिएसँगै लाग्ने वसन्त ऋतुको आगमनले बोटबिरुवाले पालुवा हाल्ने र फूल फुल्ने मौसम ल्याउँछ । यही मौसममा पुतलीले आफ्ना अन्डाबाट लार्भा जन्माउँछन् । अनि लार्भा खानाको खोजीमा बोटबिरुवाका पातपातमा पुग्छन् । लार्भा अति नै खन्चुवा हुन्छ । पुतलीविज्ञ खनालका अनुसार कतिपय पुतली एउटै खालका बोट बिरुवाका पात मात्र मन पराउने हुन्छ, जसलाई मोनो फाइलस भनिन्छ । कतिपय भने दुईभन्दा बढी बोटबिरुवाका पात छानी छानी खान रुचाउँछन् ।
तराईका पुतली प्रायः खयरको पात खान मन पराउँछन् । पहाडतिर किम्बु, तरकारी तथा अन्य फल तथा फूलका पात पुतलीका आहरा हुन् । जलवायु परिवर्तनको असरले यसको जन्मदेखि मृत्युसम्मकै चक्रमा असर परेको दाबी खनाल गर्नुहुन्छ । छिटो गर्मी बढ्दा अन्डाबाट लार्भा र पुतली बन्ने क्रम छिटो हुन्छ र मर्ने क्रम पनि छिटो हुने गरेको छ । उहाँले थप्नुभयो, “जसले मौसम अनुसार यसले गर्नुपर्ने योगदानमा फरकपना आउँदा वनस्पती चक्रमा फूल फुल्ने र फल लाग्ने चक्रमा पनि परिवर्तन आउने गर्छ ।” जलवायु परिवर्तनको असरले पुतलीको बासस्थान पनि बदलिन थालेका छन् ।
खनालका अनुसार पहिले तराईमा मात्र पाइने पुतली अहिले राजधानी काठमाडौँ उपत्यकाका पहाडमा धेरै देखिन थालेका छन् । हिमरेखा छेउछाउमा पाइने पुतली अचेल माथिल्लो हिमाली भेगमा पनि देखिन थालेका छन् । पुतलीको बासस्थान परिवर्तनकै कारण तल्लो भेगमा फुल्ने फलफूल पनि माथिल्लो भेगतिर फल्न र फुल्न थालेका छन् । काठमाडौँ उपत्यकाको गोदाबरीदेखि फूलचोकीसम्मको भूभाग र शिवपुरी पहाडमा ३६९ प्रजातिका दिवाचर पुतली पाइन्छन् । नेपालभरमा कुल ६९२ प्रजातिका पुतली रेकर्ड भएको छ । निशाचर पुतलीको आँकडा भने देशभरमा करिब तीन हजारभन्दा बढी रहेको छ । अहिले देशभर जारी पुतली गणनाले त्यसमा थपघट हुन सक्ने जनाइएको छ ।
प्रकृति जस्तै सुन्दर सिर्जना मानिने पुतलीलाई पारिस्थितिक प्रणालीसँगै जलवायु परिवर्तनको प्रमुख सूचक मानिन्छ । प्रदूषणमा पनि पुतली नबाँच्ने भएकाले स्वच्छ वातावरणको सूचक पनि मानिन्छ । चार हप्तामा वयस्क हुने सुन्दर पुतली करिब तीनदेखि चार महिनामा फुल पारेपछि लार्भा निस्कने बेलासम्ममा मरिसकेका हुन्छन् ।