बिशाल सुनार
दुल्लु, चैत १२ गते । दैलेखमा विद्युतीय गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन् । दैलेख सदरमुकामबाट आठबीस नगरपालिका जादैँ गरेको कर्णाली प्रदेश ०२–००१ ज ०६२१ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । दुर्घटनामा परी घाइते हुने सबै विद्यार्थी हुन् । आज भएको विज्ञान विषयको पुरक परीक्षा दिएर घर फर्कंदै गरेका चारजना विद्यार्थी घाइते भएका हुन् ।
मध्यपहाडी राजमार्ग अन्तर्गत भैरवी गाउँपालिका–२ रावतकोटको गालुगाउँ चौतारा नजिक तीव्र गतिका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइते हुनेहरुमा ठाँटिकाँध गाउँपालिका ५ का १८ वर्षीय हिक्मत शाही, १८ वर्षीया जलधरा शाही, १८ वर्षीया शर्मिला विश्वकर्मा र आठबीस नगरपालिका ८ का १८ वर्षीय बहुविर शाही हुनुहुन्छ ।
घटना लगतै स्थानीबासीले घाइतेहरुकोे उद्धार गरी भैरवी गाउँपालिकाको गाडीमा उहाँहरुलाई दैलेख अस्पताल ल्याइएको थियो ।
दैलेख अस्पतालमा उपचारपछि हिक्मत शाही डिस्चार्ज हुनु भएको छ भने अन्य घाइते तीनजनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको छ ।
गाडी सडकबाट झण्डै दश पन्ध्र मिटर तल खसेको छ । गाडी चालक फरार रहेको र खोजी कार्य जारी रहेको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिनुभयो ।