यदुप्रसाद भट्ट
मनाङ, वैशाख २६ गते । मङ्सिर लागेसँगै चिसो बढ्दा बेँसी झरेका भेडाबाख्रा तथा चौँरी अचेल लेक उक्लिन थालेका छन् । चरनका लागि लेकमा घाँस पलाउन थालेको तथा बेँसीमा गर्मी हुन थालेपछि मनाङका भेडाबाख्राका बथान लेक उक्लिन थालेका छन् ।
मनाङमा कृषकको मुख्य पेसा भनेको भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरीपालन हो । जब माथिल्लो भेगमा घाँस पलाउँदै जान्छ तब गोठालाले भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरी लेकतिर लैजाने गर्छन् । मनाङ ङिस्याङ गाउँपालिकाका भेडाबाख्रा यो समयमा लेक पस्न थालेको युवा पशुपालक किसान सगर गुरुङले बताउनुभयो । उहाँले हिउँदमा बेँसी झरेका भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरीगोठ माथि माथि लेकतिर सर्न थालेको बताउनुभयो ।
चिसोमा बेँसी झारिएका भेडाबाख्रा वैशाखदेखि असोजसम्म चराउनका लागि लेकतर्फ लैजाने गरिएको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीका छ महिना लेक र जाडोका छ महिना बेँसीमा भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरीगोठ राख्ने गरेका छौँ । बेँसीमा झारिएका भेडाबाख्राका बथानको मल यहाँका बारीमा प्रयोग हुने गरेको छ ।” बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने भेडाको ऊन निकालेर राडीपाखी, बक्खुलगायत सामग्री बनाउन प्रयोग हुने गर्छ ।
चामे गाउँपालिकाको खान्चोकको भेडागोठ लेक उक्लिएका अर्का किसान राज गुरुङले बताउनुभयो । यस पालिकाको पाँच वटै वडामा भेडापालन गरिने गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले लेकमा घाँस पलाए पनि हिमालमा हिउँचितुवाको डर हुने गरेको बताउनुभयो । त्यसै गरी नासोँ गाउँपालिका–८, ताचैका वडाध्यक्ष याद घलेले छ महिनाका लागि भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरी बिस्तारै बिस्तारै लेक उक्लिन थालेको बताउनुभएको छ ।
वडाध्यक्षसमेत रहेका घलेले लामो समयदेखि भेडाबाख्रा पाल्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “हिमाली भेगको आलु, जौ, करु, फापर, गहुँ तथा मकैका लागि मल नभई हुँदैन । हामी त छ महिना हिमालको काखमा भेडागोठ लिएर जान्छौँ र छ महिना जाडो छल्न तथा मलका लागि बेँसी झर्छौं ।”
अचेल मनाङका भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरी गाउँभन्दा माथिका लेकमा खर्कमा चर्दै गरेको बथान देख्न सकिने गरेको उहाँले बताउनुभयो ।