बबई समाचारदाता
बबई (बर्दिया), वैशाख २६ गते । भारत–पाकिस्तान विवाद बढ्दै जाँदा ८३ किलोमिटर खुला सीमा भएको बर्दिया जिल्लाको सीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भारत–पाकिस्तानको विवादलाई दृष्टिगत गर्दै सीमा क्षेत्रमा कुनै पनि किसिमको गलत क्रियाकलाप हुन नदिन सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त टोलीले सीमा सुरक्षा कडा बनाएको बताइएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर निगरानी बढाइएको र राष्ट्रिय अनुसन्धानलाई गोप्य तरिकाले निगरानी गर्न निर्देशन दिइएको बताउनुभयो ।
नेपाल–भारत सीमा क्षेत्रको बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र राजापुर नगरपालिका क्षेत्रमा सीमा सुरक्षा कडा बनाइएको हो । भारत–पाकिस्तान युद्धको खतरा बढ्दै गएपछि बर्दियाको सीमा क्षेत्रमा समेत निगरानी बढाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वाटर बर्दियाले जनाएको छ । अधिकांश सीमा क्षेत्र भारतको जङ्गल क्षेत्र भएको र त्यस क्षेत्रबाट अवाञ्छित क्रियाकलाप हुन सक्ने भन्दै सीमा सुरक्षा कडा पारिएको हो ।
नेपाल–भारत सीमा क्षेत्रमा पहिला पनि गस्ती हुने गथ्र्यो । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वाटर बर्दियाका प्रहरी उपरीक्षक मानबहादुर शाहीले अहिले भारत–पाकिस्तानको विवादलाई दृष्टिगत गरेर बर्दियाको ८३ किलोमिटर क्षेत्रफलमा संयुक्त गस्ती बढाइएको बताउनुभयो । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत ठाउँ ठाउँमा दुईपक्षीय सुरक्षाकर्मीबाट यात्रुको चेकजाँच गर्ने र कुनै शङ्का लागेमा उनीहरूसँग बुझेर मात्र छोड्ने गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वाटर बर्दियाले जनाएको छ । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सबैको परिचयपत्र हेरेर मात्र सीमा प्रवेश गर्न दिइएको छ ।