• १५ चैत २०८१, शुक्रबार

श्रमदान संस्कृति : विकास निर्माणमा जुट्दै युवा

blog

जनश्रमदान गरेर बाटो निर्माण गर्दै स्थानीय युवा।

प्रनिश गिरी 

कुश्मा, पर्वत चैत्र १२ गते। पर्वतको कुश्मा नगरपालिकास्थित पाङ र खुर्कोटका युवा सामुदायिक श्रमदान संस्कृतिको जगेर्नामा जुटेका छन्। युवा सामुदायिक श्रम संस्कृति जगेर्ना गरी गाउँको विकास निर्माणमा लागेका हुन्।

गाउँघरमा अरु बेला जो जहाँ भए पनि छिमेकीलाई मर्दा र पर्दा सहयोग गर्नुपर्छ भन्ने सामाजिक भावना मानिसमा थियो। रोजीरोटीका लागि युवाशक्ति विदेश पलायन हुँदा गाउँघरतिर सामाजिक भावनाले काम गर्ने मानिस समेत पाउन कठिन छ। केही दशक अघिसम्म गाउँले मर्दा र पर्दा सेवा गर्नुपर्छ भन्ने भावनाले एक आपसमा सहयोगको आदानप्रदान बढी नै हुने गर्दथ्यो। 

बसाइँसराइका कारण मानिस सहर बजार झर्ने गर्दा गाउँघर रित्तिदै गएका छन्। विगतमा भएको श्रमसंस्कृति समेत हराउँदै छ। पुर्खाले जनश्रमदानबाट निर्माण गरेका पानीपँधेरा, बाटोघाटो, खेतबारी, कुलो, कुलेसा, चौतारी, पोखरी, सत्तल, घाट, मन्दिर, विद्यालयलगायतको संरक्षण  हुन सकेको छैन। 

गाउँमा चलाइएको जनश्रमदान अभियानमा युवासँग वडा जनप्रतिनिधि सदस्य भीमनिधि रेग्मी र निरुता परियारले समेत हातेमालो गर्दै आउनुभएको छ। जनश्रमदान अभियानमा स्वतःफूर्त जोडिएका दर्जनौँ सङ्ख्यामा युवाले डेढ किलोमिटर लामो बाटोको दायाँबायाँ किनारको झाडी पन्छाउने, नालीमा भएको माटो र पहिरो हटाउने साथै बिग्रिएको सडकमा ढलान गरेका थिए। गाउँमा विकास निर्माण भएको तर त्यसको दिगो व्यवस्थापन नहुँदा सामाजिक विकासमा अवरोध श्रमदानमा जुट्नुपरेको युवाको भनाइ छ। 

वडा २ का अध्यक्ष लालकिस्न बास्तोलाले गाउँका युवावर्ग श्रमदानमा जुट्दा जनप्रतिनिधिलाई पनि हौसला मिलेको बताउनुभयो। गाउँमा पुग्ने सडकमा घुम्ती धेरै छन्। घुम्ती सडकमा झाडी र पहिरोबाट झरेका ढुङ्गाका कारण खाल्टाखुल्टी बनेर दुर्घटनाको जोखिम थियो।

खुर्कोटका युवाले पहिलेको श्रमदान संस्कृतिलाई पुनः स्थापित गरी गाउँको विकास निर्माणमा श्रम, सीप र ज्ञान लगाउने बताएका छन्। स्थानीय युवा किस्नप्रसाद शर्माले जनश्रमदान संस्कृतिलाई निरन्तरता दिँदै गाउँका बाटाघाटा, कुलो, सामुदायिक वनको संरक्षण, पोखरी, चौतारा लगायतको मर्मत, सम्भार साथै संरक्षण गरी विकास निर्माणमा सहभागी हुने बताउनुभयो।