• १३ चैत २०८१, बुधबार

त्रिचालिस आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १२ गते । त्रिभुवन विश्वविद्यालयका ४३ वटा आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ । 

आइतबार त्रिविका ठुला आङ्गिकमा पर्ने पोखराको पृथ्वीनारायण (पिएन) र अमृत साइन्स क्याम्पसमा निर्वाचन सम्पन्न भएसँगै यो सङ्ख्या ४३ पुगेको हो । अमृत क्याम्पसको निर्वाचन नतिजा आइसकेको छ भने पिएन क्याम्पसको बाँकी छ । 

चैत ५ गते नै निर्वाचन भइसकेको ठाकुरराम बहुमुखी क्याम्पसमा भने आन्तरिक विवादका कारण मतगणना कार्य रोकिएको छ । आङ्गिकमध्येकै चर्चित क्याम्पसमा पर्ने रत्नराज्यलक्ष्मी, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, सरस्वती, पाटन संयुक्तसहित १९ क्याम्पसमा भने स्ववियुको निर्वाचन हुन सकेको छैन । 

निर्वाचन सम्पन्न भएका आङ्गिकमध्ये नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी सङ्घले सबैभन्दा धेरै अर्थात् १४ वटा आङ्गिक क्याम्पसमा जितेको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट 

अनेरास्ववियु दोस्रो स्थानमा छ । आइतबार अमृत साइन्स क्याम्पसमा रुद्रहरि पोखरेलको प्यानल नै विजयी भएसँगै अनेरास्ववियुले १३ क्याम्पसमा जित हासिल गरेको अनेरास्ववियुले बताएको छ ।  

माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) ले नौ वटा क्याम्पसमा सभापति जितेको छ । पुल्चोक इन्जिनियरिङ, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरासहित केही क्याम्पसमा भने स्वतन्त्र प्यानल खडा गरेर प्रतिस्पर्धा गरेका विद्यार्थीले पनि जित हासिल गरेका छन् । 

त्रिविका सम्बन्धन प्राप्त क्याम्पसमा पनि स्ववियु निर्वाचन भएको छ तर सम्बन्धन प्राप्त क्याम्पसको निर्वाचनसम्बन्धी विवरण त्रिविले एकीकृत नगर्ने भएका कारण कतिवटामा निर्वाचन सम्पन्न भएको छ भन्ने तथ्याङ्क छैन । 

त्रिविले पहिलो पटक चैत ५ गतेका लागि निर्वाचनको मिति तोकेको थियो तर विद्यार्थी सङ्गठननै विवादका कारण यी क्याम्पसमा निर्वाचन हुन नसकेको हो । पहिलो पटक निर्धारित मितिमा स्ववियु निर्वाचन हुन नसकेमा १५ दिनभित्र निर्वाचन गर्नैपर्ने व्यवस्था गरिएको छ । यदि उक्त मितिभित्रमा निर्वाचन गर्न नसक्ने क्याम्पसमा स्ववियु कार्यसमिति रहने छैनन् । यसअघि निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन नसकेमा उक्त मितिले ३० दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्थालाई संशोधन गरेर नयाँ व्यवस्था गरिएको हो । 

यस अनुसार अब बाँकी रहेका क्याम्पसमा चैत २० गतेभित्रमा निर्वाचन गर्नै पर्छ । निर्वाचन रोकिएका क्याम्पसमा पनि अर्को मिति तय गर्ने विषयमा छलफल भइरहेको त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले जानकारी दिनुभयो ।