• ७ जेठ २०८१, सोमबार

गिट्टी बालुवाको अवैध उत्खनन् रोक्न गाउँपालिका सक्रिय

blog

सिराज खान 

नेपालगञ्ज, जेठ २० गते । लामो समयदेखि हुँदैआएको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन् तथा ओसारपसार रोक्न बाँकेको राप्तीसोनारी गाउँपालिकाले शुरु गरेको   छ । राप्तीसोनारीका नदी तथा खोलामा पहिलेदेखि नै भइरहेको अबैध उत्खनन् नियन्त्रण गर्न स्थानीय तहको निर्वाचनलगत्तै विजयी भएका जनप्रतिनिधि सक्रिय भएका हुन् । 

राप्ती नदी लगायत विभिन्न खोलाबाट भैरहेको अवैध उत्खनन् रोक्न अहिले राप्तीसोनारीका सबै जनप्रतिनिधि स्थलगत अनुगमनमा निस्कनु भएको र विभिन्न स्थानमा घाटगद्दी गरेर राखिएका नदीजन्य सामग्रीको नापजाँच पनि गरिरहनु भएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको नेतृत्वमा उपाध्यक्ष मनिषासिंह थारु, नौ वटै वडाका वडाअध्यक्षसहित १७ जना कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, लेखा अधिकृत गौरवकुमार लामिछाने तथा अन्य कर्मचारी, प्राविधिक, सुरक्षाकर्मी सहितको टोली स्थलगत अनुगमनमा सक्रिय रहेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष पौडेलले नदीजन्य पदार्थको ब्यवस्थापन यसअघि गाउँपालिकाले गर्न नसकेपनि अहिले आफुहरु आइसकेपछि अबैध उत्खनन्, ओसारपसार र भण्डारण गर्न नदिइनेगरी नियमन कार्य सुरु गरिएको बताउनुभयो । 

‘कार्यपालिकाको बैठकबाट निर्णय गराएर हामीले नियमन गरेका छौं, त्यो कार्यविधि अन्तर्गत नआउने कुनैपनि ब्यवसायीलाई असार मसान्तसम्म राजश्व बुझाउन समय दिएका छौं,’ पौडेलले भन्नुभयो ‘अबैध रुपले खोलानालामा थुपारिएका नदीजन्य पदार्थलाई असारसम्म स्टक प्रमाणित गर्नुपर्यो, त्यसका लागि गाउँपालिकाको कार्यालय, वडापालिकाको कार्यालयमा राजस्व तिर्ने र हामीले त्यसको निरीक्षण गरेका छौं ।’ 

ब्यवसायीले त्यसो गर्न नसकेमा आगामी साउन १ गतेदेखि ती सबै नदीजन्य सामग्री गाउँपालिकाको नियन्त्रणमा हुने अध्यक्ष पौडेले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीकाअनुसार क्रसर उद्योग र घाटगद्दीको स्थलगत अनुगमन गरी नियम कानुनअनुसारका आवश्यक कागजात माग गर्ने र त्यहाँ रहेका नदीजन्य सामग्रीको मात्रा नाँपजाँच गरी सोको खरिद वा संकलनका स्रोत एकिन गर्ने गरिएको छ । 

अनुगमनका क्रममा अधिकांश क्रसर उद्योग नियम विपरित चलेको पाइएको पनि डाँगीले जानकारी दिनुभयो । टोलीले शुक्रबार राप्ती सोनारी २, ८ र ९ का विभिन्न घाटगद्दी तथा नदीजन्य सामग्रीसम्बन्धी उद्योगको स्थलगत अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताउनुभयो । 

गाउँपालिकाले खैरी खोला, मुगुवा खोला, टिकुलीपुरघाट सिधनियाघाट, बग्दैलाघाट, लालपुरघाट, आलिनगर खल्लाटपरीघाट, जलालाघाट, परुवा खोला, झिझरी खोलालाई निषेधित क्षेत्र कायम गरेको छ । 

अब्यवस्थित रुपमा रहेका पुरानो स्टक समानलाई नियमअनुसारको पुरानो स्टक मालबस्तुको उचित ब्यवस्थापनका लागि गाउँपालिकाको प्राकृतिक स्रोत तथा खानीजन्य वस्तुको बिक्री तथा निकासी सम्बन्धी कार्यविधी २०७५ बमोजिम राजस्व रकम गाउँ कार्यपालिकामा बुझाउनुपर्ने गाउँपालिकाको निर्देशन छ । गाउँपालिकाले अवैध उत्खनन् रोक्न कडाई शुरु गरेपछि दुई वटा जेसिबीलाई नदीबाटै नियन्त्रणमा लिएको छ ।