काठमाडौं, चैत ११ गते । पाकिस्तानको ८५ औं राष्ट्रिय दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झण्डात्तोलन गरिएको छ । दिवसका अवसरमा आइतबार नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले पाकिस्तानको झण्डोत्तोलन गर्नुभयो ।
पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्ति अनुसार समारोहमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीका सन्देश वाचन गरिएको थियो ।
सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले आफूहरुले पाकिस्तानका संस्थापक राष्ट्रपिता तथा पाकिस्तान आन्दोलनका बलिदानकर्ताका बलिदानको सम्मान गर्ने बताउनुभएको छ । एकता, विश्वास र अनुशासनका सिद्धान्तहरूलाई अँगालेर आफूहरुले राष्ट्रिय सुरक्षालाई बलियो बनाउन, अर्थतन्त्रलाई बढावा दिन, कृषिलाई अगाडि बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र युवाका लागि अवसर सिर्जना गर्न सकिने उहाँले उल्लेख गर्नुभएको छ ।
पाकिस्तानले आफ्नो सार्वभौमिकताको रक्षा गर्दै शान्तिपूर्ण सहअस्तित्व, क्षेत्रीय स्थिरता र बलियो विश्वव्यापी सम्बन्ध राख्ने उल्लेख गर्दै राष्ट्रपति जर्दारीले गर्नुभएको छ ।
त्यसैगरी, पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले मार्च २३ लाई दक्षिण एसियाको इतिहासमा एक निर्णायक क्षणको रूपमा व्यक्त गर्दै ८५ वर्षअघि कायद ए आजम मुहम्मद अली जिन्नाको नेतृत्वमा उपमहाद्वीपका मुस्लिमहरूको दूरदर्शी नेतृत्वले मुस्लिमहरूलाई सम्मान र स्वतन्त्रताका साथ बाँच्न सक्ने स्वतन्त्र मातृभूमि सिर्जना गर्न एकजुट भएको स्मरण गर्नुभएको छ ।
यो दृष्टिकोण १९४० को लाहोर प्रस्तावमा साकार भएर १९४७ मा पाकिस्तानको निर्माण गरेको तथा यो पुर्खाको दृढता र बलिदानमा आधारित रहेको पनि उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री शरीफले पाकिस्तानका सशस्त्र बल र सुरक्षार्कीले ठुलो वीरतासाथ राष्ट्रको सार्वभौमिकताको रक्षा गर्न जारी राखेको उल्लेख गर्दै सन्देशमा आफूहरुले सहिदहरूको बलिदानको सम्मान गर्ने बताउनुभएको छ ।
पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक दारले विदेशमा रहेका पाकिस्तानीको देशभक्ति, समर्पण र कडा परिश्रमको प्रशंसा गर्दै उनीहरुले प्रत्येक दिन गर्वका साथ अन्तर्राष्ट्रिय स्तरमा पाकिस्तानको प्रतिनिधित्व गर्ने स्मरण गर्नुभयो । साथै देशको भविष्यको सफलतालाई आकार दिन उनीहरुको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।
नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले पाकिस्तानको प्रगति र समृद्धिको ताला एकता, कडा परिश्रम र दृढ सङ्कल्पमा निहित रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा रहेका पाकिस्तानी समुदायलाई स्थानीय रूपमा संलग्न रहन र पाकिस्तान–नेपाल मित्रतालाई माथि उठाउन कुनै पनि तरिकाले योगदान गर्न आह्वान गर्नुभयो ।