सुधा देव
भारदह (सप्तरी), चैत ११ गते । हनुमाननगर कङ्कालिनी गाउँपालिका–७, अन्डिपट्टीगाउँको गर्जो भिन्डी खेतीबाट आएको आम्दानीले चलेको छ । यहाँका एक सय परिवारले प्रत्येक वर्ष ३० देखि ४० बिघा जग्गामा भिन्डी खेती गरेर पाँच महिनाको अवधिमा एक परिवारले पाँच लाखदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन् ।
माघमा लगाएको भिन्डी वैशाखदेखि भदौसम्म निरन्तर फल्ने ६५ वर्षीय भोजदेव ठाकुरले बताउनुभयो । उहाँका अनुसार सुरुमा दुई जनाले थालेको भिन्डी खेतीबाट राम्रो आम्दानी भएपछि गाउँका किसान भिन्डी खेतीतर्फ आकर्षित भएका हुन् । यहाँका किसानले ३५ वर्षदेखि यही खेतीलाई निरन्तरता दिँदै आएको उहाँले जानकारी दिनुभयो । वैशाखको पहिलो हप्तादेखि प्रतिकिलो एक सय रुपियाँमा बिक्री हुने भिन्डी भदौदेखि भने प्रतिकिलो १०/२० रुपियाँसम्म बिक्री हुन्छ ।
सोही ठाउँका दीपेन्द्र मण्डलले १० कट्ठामा भिन्डी छरेको र सुरुका दुई महिना दैनिक १० हजार रुपियाँसम्म आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यतिबेलाको हाम्रो आम्दानी ठुला ठुला अफिसरको कमाइभन्दा राम्रो हुन्छ । त्यहीँ आम्दानी बचाएर वर्षभरिको सबै खर्च टार्दै आएकाले हाम्रो गाउँ नै भिन्डीमै चलेको हो ।”
आम्दानी राम्रो भए पनि भिन्डी खेती खर्चिलो हुने आइपिएम कृषि समूहका अध्यक्ष कमलदेव साहले बताउनुभयो । उहाँका अनुसार प्रतिकट्ठा भिन्डीबारीमा परिश्रमबाहेक पाँच हजार रुपियाँका दरले खर्च हुन्छ । विषादी र मलको मूल्य उत्तिकै चर्को छ ।
भिन्डीको बिउ नै प्रतिकेजीको एक हजार पाँच सयदेखि दुई हजार रुपियाँ पर्छ । एक कट्ठामा दुई केजीका दरले लाग्छ । श्रम अन्तर्गत हप्तामा एक पटक औषधी छर्कनुपर्ने, अवधिमा तीन पटकसम्म गोडमेल गर्नुपर्ने र निरन्तर पानी हाल्नुपर्ने हुन्छ ।
पहिले यहाँको भिन्डी काठमाडौँ जाने गरेको भए पनि अहिले राजविराज बजारको भर पर्नु परेको छ । काठमाडौँ लाँदालाँदै छिप्पिने हुनाले काठमाडौँ जान छोडेको हो । यो ठाउँ भिन्डीकै नामले प्रख्यात भए पनि खेतीलाई थप प्रभावकारी गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको भिन्डी खेती गर्दै आएका ५२ वर्षीय सत्यनारायण साहले बताउनुभयो ।
उहाँले भन्नुभयो, “३५ वर्षको अवधिमा यसपालि प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र सप्तरीले माघदेखि आइपिएमको अर्थात् एकीकृत शत्रु जीव व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रमले शत्रु जीव व्यवस्थापन, मित्र जीवको संरक्षण, विषादी न्यूनीकरण स्वास्थ्य बाली उत्पादन, बालीको नियमितता तथा किसानलाई दक्ष बनाउने उद्देश्य लिएको आइपिएमको प्रमुख सहजकर्ता रामप्रसाद इसरले जानकारी दिनुभयो ।
गाउँमै महिलालाई रोजगारी
भिन्डी खेतीले अन्डिपट्टी छेउछाउका महिलाले गाउँमै रोजगारी पाएका छन् । भिन्डीबारीमा काम गरेर महिलाले दैनिक आम्दानी गर्न थालेपछि आर्थिक रूपमा आत्मनिर्भर भएका छन् । भिन्डीको खेतमा पलाएको घाँस उखेल्दै गर्नुुभएकी २७ वर्षीय सियावती मण्डलले चैत लाग्दा नै महिलाले भिन्डी खेतीमा दैनिक रोजगारी पाउँदै आएको बताउनुभयो । अहिले घाँस उखेल्ने र भिन्डी फलेपछि टिप्ने काम पाइन्छ । प्रतिदिन पाँच सय रुपियाँ आम्दानी हुन्छ । उहाँहरूसँगै खेतमा काम गरिरहनुभएकी ६० वर्षीय सकुन्ती मण्डलले परिश्रम अनुसार दाम र सम्मान पाएपछि आनन्द लाग्दो रहेछ भन्ने अनुभूति सुनाउनुभयो ।