नारायणगढ समाचारदाता
खोरसोर (सौराहा), चैत १० गते । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रमा छावा पैदा भएको छ । प्रजनन केन्द्रमा रहेको रिमझिमकली (ढोई) बाट शुक्रबार मध्यरातिमा छावा जन्माएसँगै प्रजनन केन्द्रमा नयाँ छावा थपिएको हो ।
केन्द्रका प्रमुख मनिपुरन चौधरीका अनुसार १२ वर्षकी रिमझिम कलीको यो पहिलो सन्तान हो । रिमझिम कली पनि प्रजनन केन्द्रमै जन्मिएर हुर्किएकी ढोई हो । सुकेभार क्षेत्रमा रहेका बेला जङ्गली मत्ता धुब्रेसँगको सम्बन्धमा रिमझिमकली गर्भवती भएकी प्रमुख चौधरीले जानकारी दिनुभयो ।
“आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो छ । छावाको ११ औँ दिनमा मान्छेको जसरी नै धार्मिक विधि अनुसार न्वारन गर्ने परम्परा छ,” प्रमुख चौधरीले भन्नुभयो, “हामी न्वारनमा प्रमुख संरक्षण अधिकृतदेखि सबैलाई सहभागी गराउँछौँ । प्रजनन केन्द्रमा छावा जन्मनु संरक्षणका दृष्टिले ठुलो महत्व र उपलब्धि मानिन्छ,” उहाँले भन्नुभयो ।
हात्ती विशेषतः पर्यटक घुमाउन र जङ्गल गस्तीका लागि प्रयोग गरिने जनावर हो । २०४२ सालमा स्थापना भएको हात्ती प्रजनन केन्द्रमा २०५४ सालयता पछिल्लोसहित ६६ वटा छावा जन्मिएका छन् । यसरी जन्मिएका छावा प्रायः जङ्गली हात्तीकै सन्तान हुन् ।