लीलाराज खड्का
बिर्तामोड, चैत ९ गते । वढ्दो सवारी दुर्घटना र वायु प्रदुषर्णलाई रोक्न सुरुङ्गा सहकार्य युवा क्लबले शनिबार आयोजना गरेको साइकल दौडमा निमा सेर्पा पहिलो हुनुभएको छ ।
१५ किलोमिटरको प्रतियोगितामा उदयपुर गाईघाटका सेर्पाले २९ मिनेटमा दौड पूरा गर्नुभयो । झापा मेचीनगरका अर्जुन बस्नेतले ३० मिनेटमा पूरा गर्दै दोस्रो र मेचीनगरकै मिलन राजवंशीले ३१ मिनेटमा दौड पूरा गर्दै तेस्रो हुनुभयो ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश: १५ हजार, १० हजार र ७५ सय रुपियाँ पुरस्कार प्रदान गरियो । झापा कनकाई नगरपालिका–३ सुरुङ्गा बजारबाट सुरु भएको दौड कनकाई नगरका विभिन्न पर्यटकीय स्थलहरु जामुनखाडी, धनुषकोटी, प्रजापति दोमुखा हुँदै सुरुङ्गामा आएर सकिएको थियो ।
विजेतालाई कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले पुरस्कार प्रदान गर्नुभयो ।