काठमाडौँ, चैत ९ गते । बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि सहज जित निकालेको छ ।
दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले कोशीलाई एक सय ३१ रनले हरायो । बागमतीको जितका सूर्य तामाङ एक्लैले पाँच विकेट लिनुभएको थियो ।
जितका लागि दुई सय ४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा सर्बै विकेटको क्षतिमा एक सय नौ रनमा समेटिएको थियो । कोशीका लागि अईस भट्टराईले सर्वाधिक ३७ रन बनाउनुभयो । यस्तै सुजन थपलिया २५ र फिर्दोश अन्सारी २४ रन बनाउनुभयो ।
अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कोशीलाई सस्तोमा समेट्न बलिङमा बागमतीका सूर्यले नौ ओभरमा जम्मा २७ रन खर्चिएर पाँच विकेट लिनुभएको हो । यस्तै रिजन ढकालले तीन तथा साकार गजुरेलले दुई विकेट झार्नुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बागमतीले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४० रन बनाएको थियो । बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ३९ रन बनाउनुभयो ।
यस्तै ओपनर आशुतोष घिरैया २९, इशान पाण्डे र विपिन आचार्यले २५/२५, रिजन ढकालले अविजित २२, सोनु देवकोटाले १८, सूर्य तामाङले १७ र गौतम केसीले १६ रन बनाउनुभयो ।
बलिङमा कोशीका सुजन थपलिया र प्रकाश कार्कीले दुई दुई तथा ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र फिर्दोश अन्सारीले एक एक विकेट लिनुभयो । जितसँगै सात खेलबाट ६ अङ्क बनाएको बागमती छैटौँ स्थानमा छ । समान खेलबाट दुई अङ्क बनाएको कोशी अन्तिम तथा १०औँ स्थानमा छ ।