कपिल ज्ञवाली
सिद्धार्थनगर, चैत ८ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीहरुको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताउनुभएको छ । दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई शुक्रवार बिहान सम्बोधन गर्दै मन्त्री पाण्डेयले विश्वभरका शान्तिप्रियहरुको पनि पवित्र स्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको उल्लेख गर्नुभयो ।
चिनिया दुताबाससँगहको सहकार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहित विभिन्न निकायहरूको आयोजनामा बिहीबारदेखि सुरु भएको महोत्सवको शुक्रवार बिहान उद्घाटन समारोह गरिएको हो । मन्त्री पाण्डेयले लुम्बिनी बौद्ध धर्माम्बलम्बीहरुको आस्थाको केन्द्र मात्रै नभई विश्वव्यापी रूपमा लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिने बताउनुभयो । उहाँले विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीको संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । उहाँले चिनियाँ दूतावासले गरेको लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले नेपालको पर्यटन प्रवर्द्धनसँगै मित्रता भातृत्व र एकतालाई बलियो बनाउने बताउनुभयो । मन्त्री पाण्डेयले भन्नुभयो नेपालले संस्कृति, आध्यात्मिक र साहसी पर्यटनबाट लाभ लिन सक्ने बताउँदै यसको प्रमुख गन्तव्य लुम्बिनी हुन्छ, हालै पर्यटन प्रवर्द्धन, संस्कृति आदानप्रदान र हवाई सेवा विस्तारका लागि थाइल्यान्ड, कम्बोडिया लगायतका देशसँग सहकार्यमा सम्झौता भएको छ ।झ
अब त्यसको कार्यान्वयनमा लाग्न आग्रह गर्नुभयो । लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेयले बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडिएका तिलौराकोट, देव दह र रामग्रामलाई विश्वशान्ति सहर बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चिनले नेपालसँगको सम्बन्धलाई दिगो बनाउन पवित्र स्थल लुम्बिनीमा दोस्रो पटक लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गरेको बताउनुभयो । सम्मेलनको उद्घाटन मायादेवी मन्दिर उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान गराइएको थियो ।
शनिवार खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन कार्यक्रम राखिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पूर्व मन्त्री जीवनराम श्रेष्ठले बताउनुभयो । शुक्रवार समितिले लुम्बिनी क्षेत्रका खेलकुदका सामाग्रीहरू समेत वितरण गर्ने छ । शुक्रवार नै लुम्बिनी विश्वविद्यालयमा सांस्कृतिक आदानप्रदान कार्यक्रम, साँझ लुम्बिनी स्क्वायरमा सांस्कृतिक कार्यक्रम राखिएको दूतावासले जनाएको छ ।