• ३ साउन २०८१, बिहिबार

नीति तथा कार्यक्रम स्वीकृत

blog

राममणि दाहाल 

हेटौँडा, जेठ २० गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतबाट स्वीकृत भएको छ । नीति तथा कार्यक्रममाथिको छलफलपछि बिहीबार प्रदेश सभा बैठकको बहुमतले नीति तथा कार्यक्रम स्वीकृत भएको हो । 

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रममा आधारित भएर बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा समाजवादी कार्यक्रम भर्खर सुरु गर्न लाग्दा आफूहरूलाई कम्युनिस्ट भन्नेहरू किन तर्सेको भन्ने प्रश्न गर्दै उहाँले विभेद अन्त्य गर्न र रोजगारी सिर्जना गर्न कार्यक्रम ल्याउने बताउनुभयो । 

कर्मचारी अभाव रहेको अवस्थामा प्रदेश निजामती कर्मचारी सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशले अब प्रदेशले आफैँ कर्मचारी राख्न सक्ने बाटो खुलेको र यसले बजेट खर्च नहुने समस्या हट्ने उहाँले बताउनुभयो । यसअघि प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले नीति तथा कार्यक्रमले राजधानी आउने सडकलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले प्रदेश चक्रपथको कुरा आएको बताउँदै विपन्न समुदायलाई लक्षित गरी नीति तथा कार्यक्रम आएको बताउनुभयो । 

प्रदेश सभाका सदस्य दीपक निरौलाले विगतको कार्यक्रमलाई नचाहेर पनि निरन्तरता दिनुले सरकार निरन्तरता हो भन्ने पुष्टि गरेको बताउँदै नीति तथा कार्यक्रम एउटा ल्याउने कार्यान्वयन अर्कै भएको उदाहरण देखिएको बताउनुभयो । प्रदेश सभा सदस्य मुनु सिग्देलले विगतमा सुरुङ मार्गको कुरा गर्ने र बजेट पनि नराख्ने गरिएको भन्दै कार्यान्वयन गर्न सकिने नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो । प्रदेश सभाका सदस्य शान्तिप्रसाद पौडेलले सरकारको समाजवादको कुरा र नीति र कार्यक्रमबीच तालमेल मिल्दैन भन्नुभयो ।

प्रदेश सभा सदस्य केशवराज पोखरेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतासँग मेल नखाने गरी नीति तथा कार्यक्रम आएको बताउनुभयो । यस्तै प्रदेश सभाको सदस्य नरोत्तम वैद्यले नीति तथा कार्यक्रम सपना र लक्ष्यविहीन रहेको बताउँदै योभन्दा अगडिको नीति तथा कार्यक्रम दीर्घकालीन सोच राखेर आएको बताउनुभयो । प्रदेश सभा सदस्य प्रदीपकुमार कटुवालले गठबन्धन सरकारले भागबन्डा गरेर बजेट बाँड्ने काम नगर्न माग गर्नुभयो । प्रदेश सभा सदस्य सीता लामाले नीति तथा कार्यक्रम आश्वासनको पुलिन्दा भएको भन्दै श्रम क्षेत्र नीति तथा कार्यक्रममा उपेक्षित भएको बताउनुभयो । 

प्रदेश सभा सदस्य सिर्जना सैजुले नीति तथा कार्यक्रममा जनताले खेलेको नयाँपन नभएको बताउँदै प्रदेश राजधानीसम्म आउने बाटो बनाउन नसक्नेले समृद्धि र समाजवादको कुरा गरेको कसरी पत्याउनु भन्ने प्रश्न गर्नुभयो । यसैगरी प्रदेश सभा सदस्य रामेश्वर फुयालले सुरुङ, विपत् व्यवस्थाको कार्यक्रम नरहेको बताउनुभयो । 

प्रदेश सभा सदस्य बुद्धिमान माझी, प्रेमबहादुर तामाङ, ओमबहादुर ग्लान, लक्ष्मण लम्साल, योगेन्द्रराज सङ्ग्रौला, सीता अधिकारी, देवकी श्रेष्ठ, रामलाल श्रेष्ठ, जुनेलीमाया श्रेष्ठ, पार्वती सिलवाल, चेतनाथ सञ्जेल, रमा आले मगर, बेलीमाया घले, प्रभात तामाङ, जगतबहादुर सिम्खडा, शशीजङ्ग थापा, मैना अछामी, प्रेमबहादुर तामाङ, राधा घले, युवराज दुलाललगायतले छलफलमा भाग लिनुभएको थियो । प्रदेश सभाको अर्को बैठक जेठ ३१ गते दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ ।