चित्र मिजार
सिन्धुपाल्चोक, चैत ७ गते । राष्ट्रिय परिचयपत्र बनाउनका लागि चौतारा सदरमुकाम पुग्नु पर्ने भएपछि सिन्धुपाल्चोकका गाउँ गाउँका ज्येष्ठ नागरिकहरूले सास्ती पाएका छन् । नेपाल सरकारले विभिन्न सरकारी तथा सार्वजनिक सेवा प्राप्त गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि ज्येष्ठ नागरिकहरूले जिल्ला प्रशासन कार्यालय चौतारा पुगेर उक्त पत्र बनाउन सास्ती भोग्नु परेको छ ।
भौगोलिक बिकटताका कारण राष्ट्रिय परिचयपत्र बनाउन जिल्लाको हिमाली क्षेत्रका ज्येष्ठ नागरिकहरूले तीन दिन समय र हजारौँ रकम खर्च गर्नु पर्ने बाध्यता रहेको छ । भोटेकोसी गाउँपालिका–१ लिस्तिकोटको माथिल्लो भेगबाट चौतारा पुग्न ज्येष्ठ नागरिकलाई दिनभर लाग्छ । त्यस दिन चौतारा बजारमा रहेका गेस्ट हाउसमा बास बस्नु पर्छ । भोलिपल्ट मात्रै राष्ट्रिय परिचयपत्रको आवेदन दिएर दिनभर लाइनमा बसेर फोटो खिचाउने, बायोमेट्रिक दिनु पर्छ । त्यस दिन पुन सदरमुकामकै गेस्ट हाउसमा बास बस्नु पर्छ । बल्ल पर्सिपल्ट मात्रै ज्येष्ठ नागरिकहरू आफ्ना घर फर्कनु पर्ने अवस्था छ ।
राष्ट्रिय परिचयपत्र बनाउन उक्त वडाबाट चौतारा सदरमुकाम पुग्न बलेरोको प्रयोग गरेमा १५ हजार भाडा र खाजा, नास्ता लगायतका खर्च गरी २० हजार बराबर खर्च लाग्ने गर्छ । यात्रुवाहक बस आउजाउ गर्दिन्न । त्यस कारण बलेरो प्रयोग गर्नुको विकल्प छैन । सो वडाबाट पैदल यात्रा गरेर सदरमुकाम आउन जान तीन दिन बढी समय लाग्ने गर्छ । त्यसमाथि समयमा राष्ट्रिय परिचयपत्र नबनेमा समय र खर्च बढ्ने गरेको छ ।
त्यसो त जुगल गाउँपालिका–३ तेगाबाट सदरमुकाम चौतारा पुग्न जो कोही लाई दुई दिन लाग्छ । ज्येष्ठ नागरिकलाई त तीन बढी समय लाग्छ । यो त पैदल यात्राबाट चौतारा पुग्ने समय हो भने फर्किदा पनि उत्ति नै समय लाग्छ । एक दिन जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र बनाउन समय लाग्छ । तेगाा, गुम्बाबाट चौतारा पुग्न र आउन बलेरोद्धारा आउजाउ गरे २० हजार बराबर खर्च लाग्ने तेगाकी ७५ बर्षीया तेउरी लामाले पीडा सुनाउनु भयो । ज्येष्ठ नागरिकहरू पैदलयात्रा गर्न सक्दैनन् । बलेरो प्रयोग गरेमा हजारौँ खर्च हुने गर्छ । यस कारण पनि गुम्बा, तेगाथान, दिपुका ज्येष्ठ नागरिकहरु राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम चौतारा पुग्दा हजारौँ खर्च र पाँच दिनसम्म समय लाग्ने अवस्थामा छन् ।
यस्तै पाँच पोखरी थाङपाल गाउँपालिकाबाट सदरमुकाम आई पुग्न गाडीको प्रयोग गरेमा एक दिन र सेवा दिन अर्को दिन र फर्किन तेस्रो दिन समय लाग्छ । सदरमुकाम आउन जान , खाना बस्न लगायतमा दसौँ हजार रकम लाग्ने र तीन दिन समय लाग्ने गर्छ । यी त उदाहरण स्थान मात्रै हुन् की जिल्ला भौगोलिक बिकटताकै कारण ज्येष्ठ नागरिकलाई सदरमुकाम पुगेर सेवा लिन अति सास्ती छ । एक त ज्येष्ठ नागरिकहरू अशक्त, बिरामी हुन्छन् । उनीहरूलाई घरका अन्य सदस्यले सदरमुकाम पुर्याउनु पर्दा खर्च डबल लाग्ने गर्छ । समय, पैसा र सडक बाटोको जटिलताले ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम पुग्न र फर्किन अति नै कष्टकर भएको छ ।
राष्ट्रिय परिचयपत्र बनाउनका लागि ज्येष्ठ नागरिकलाई सास्ती भई रहदाँ जिल्ला प्रशासन कार्यालयले स्थानीय तहमा शिविर लैजान आवश्यक रहेको देखिन्छ । यसबारे प्रमुख जिल्ला अधिकारी किरण थापासँग प्रश्न गर्दा जिल्ला प्रशासन कार्यालयले प्रत्येक पालिकासँग समन्वय गरेर घुम्ती शिविर गर्न चाहिरहेको तर स्थानीय तहहरू इच्छुक नदेखिएको बताउनु भयो । प्रशासन कार्यालयमा ज्येष्ठ नागरिकहरूको भीड लाग्ने गरेको स्वीकार्दे प्रजिअ थापाले घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्रको सेवा दिन तालिम प्राप्त जनशक्ति र बजेट अभाव रहेको जानकारी दिनुभयो । पालिका नै पिच्छे घुम्ती शिविर लगेर उक्त सेवा दिन माथिल्ला निकायमा कुरा भइरहेको उहाँको भनाई छ । सिन्धुपाल्चोकमा करिब १५ हजार ज्येष्ठ नागरिक रहेको अनुमान छ ।