बाँके समाचारदाता
बाँके, चैत ६ गते । नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब पाँच सय मिटर लामो छ । यसको स्तरोन्नति सुरु भएको करिब छ वर्ष भए पनि अहिलेसम्म निर्माण कार्य पूरा हुन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिकाका सबइन्जिनियर पवन बुढाले पछिल्लो पटक निर्माण कम्पनीलाई गत असारमा काम सक्ने गरी ठेक्का सम्झौता भए पनि काम पूरा नभएपछि जरिबाना तिराएर काम अघि बढाउन खोजिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पटक पटक पत्राचार, कारबाही र कालो सूचीमा राख्ने चेतावनीपछि बल्ल काम अघि बढेको छ ।”
निर्माण कम्पनीले दुई दिनमा काम सक्ने प्रतिबद्धता जनाएको भन्दै उहाँले काम पूरा नभए कालो सूचीमा राख्ने बताउनुभयो । उपमहानगरपालिकाले हाल जरिबाना तिराएर काम अघि बढाउन सहमति दिएको हो । निर्माण कम्पनीले पटक पटक सडक निर्माणका लागि बाटो बन्द गराएर सडकमा अलकत्रा हाले पनि काम अलपत्र छोड्ने गरेको छ । पछिल्लो समय एक साताअघि सडकमा आवागमन अवरुद्ध गराएर अलकत्रा हाले पनि थप निर्माण कार्य अघि नबढेको स्थानीय भोला रानाले बताउनुभयो ।
विगतमा सडक फराकिलो बनाउँदा केही घरधनीले घर भत्काउन ढिलाइ गरेका कारण सडक निर्माणमा विलम्ब भएपछि गत वर्ष फेरि असफाल्ट कालोपत्रे गर्ने गरी नयाँ ठेक्का स्वीकृत गरेर काम सुरु गरिएको थियो । छ वर्षअघि सडक निर्माण सुरु भए पनि घर भत्काउने विवादका कारण एसियाली विकास बैङ्कको परियोजनाले हात झिकेपछि सडक निर्माण कार्य अलपत्र परेको थियो । छ वर्षअघि निर्माण सुरु भएको सडक लामो समयसम्म अलपत्र परेपछि गत माघमा नगरस्तरीय ७५ लाख रुपियाँको बजेटमा गत असार १५ गतेभित्र असफाल्ट कालोपत्रे निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । दोस्रो पटक पनि सम्झौता अनुसार काम अघि नबढेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।