चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ५ गते। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको प्रशासकीय केन्द्र थेचम्बुमा दोस्रो पाथीभरा याङ्वरक कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको हो।
पाथीभरा याङ्वरक गाउँपालिकाको आयोजना तथा पाथीभरा ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगितामा मेन्स डबल्स (सिनियर) र भेट्रान्स मेन्स डबलको प्रतिस्पर्धा कोशी प्रदेशस्तरीय रहेको छ।
प्रदेशस्तरीय प्रतियोगितामा ताप्लेजुङबाहेक धनकुटा, तेह्रथुम, पाँचथर, झापा, इलाम र मोरङको सहभागिता रहेको प्रतियोगिताका व्यवस्थापक तेजबिर मेन्याङ्बोले जानकारी दिनुभयो।
गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका स्वकीय सचिवसमेत रहनुभएका मेन्याङ्बोका अनुसार भेट्रान्सतर्फ ताप्लेजुङ, पाँचथर र तेह्रथुमको सहभागिता रहेको छ। प्रतियोगितामा मेन्स डबल सिनियरतर्फ विजेताले ४० हजार र उपविजेताले ३० हजार रुपियाँ नगद पुरस्कार पाउने उहाँले उहाँले जानकारी दिनुभयो। यस्तै प्रदेशस्तरकै भेट्रान्स मेन्स डबलका विजेताले ३० हजार र उपविजेताले २० हजार रुपियाँ नगद पुरस्कार पाउने छन्।
यसैगरी ताप्लेजुङ जिल्लास्तरीय कर्मचारी डबल्स, मिक्स डबल्स, मेन्स डबल (जुनियर) र जनप्रतिनिधि डबल्सको प्रतिस्पर्धा हुने पनि गाउँपालिकाले जनाएको छ। जिल्लास्तरीय चारवटै प्रतिस्पर्धामा विजेता र उपविजेताले समान २० हजार र १५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।
पाथीभरा याङ्वरक गाउँपालिकासतरीय जुनियर ‘सी’अन्तर्गत मेन्स डबल्सको प्रतियोगिता रहेको र गाउँपालिकास्तरीय प्रतिस्पर्धाका विजेताले १० हजार र उपविजेताले पाँच हजार रुपियाँ नगद पुरस्का पाउने प्रतियोगिताका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनुभयो। शुक्रबार सम्पन्न हुने प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले गर्नुभएको छ।
 
                                 
                                                 
                                                             
                                                                -square-thumb.jpg) 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                