फडिन्द्र अधिकारी
लेखनाथ, फागुन ५ गते। कास्कीमा रहेका त्रिभुवन विश्वविद्यालयका तीन आङ्गीक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मङ्गलबार मतदान भएको छ। कास्कीको सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण (पिएन) क्याम्पसमा भने बुधबारमात्र मतदान हुने भएको छ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त जनप्रिय बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन विद्यार्थी संगठनबिचको विवादले अनिश्चित कालका लागि स्थगित भएको छ। यहाँको निर्वाचना समितिका संयोजक र सदस्यले राजीनामा दिएका छन्।
पोखराको चिकित्साशास्त्र अध्ययन संस्थान पोखरा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस र इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा मतदान सकेर मतगणनाको तयारी भएको छ।
पोखराको वन विज्ञान अध्ययन संस्थानमा चार सय ५० मतदाता रहेकोमा तीन सय ८५ मत खसेको छ। इन्जिनियरिङ क्याम्पसमा दुई हजार ४१ मतदाता रहेकोमा एक हजार एक ३१ मतमात्र खसेको छ। नेविसंघबाट सचिवका उम्मेदवारको उम्मेदवारी रद्द भएपछि गेटबाहिर नेविसंघले रिले अनसन गरेपछि निर्वाचन प्रभावित बनेको हो।
चिकित्सका शास्त्र अध्ययन संस्थान पोखरा क्याम्पसमा मतगणनाको तयारी भएको निर्वाचन समिति सदस्य प्रजापति पराजुलीले बताउनुभयो। यहाँ तीन सय ४९ मतदाता रहेकोमा तीन सय ४७ मत खसेको छ।
पृथ्वीनारायण क्याम्पसको मतदान बुधबार ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले सूचना जारी गरेको छ। मङ्गलबार बिहान ८ बजे मतदान सुरु हुने भनिए पनि मतपत्रमा एक जना उम्मेदवारको रेजा लगाउने ठाउँ नभएपछि विवादका कारण मतदान सुरु हुन नसकेको हो।
अखिल (छैटौं) बाट स्ववियु सभापतिका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स मतपत्रमा छुटेको थियो। उक्त मतपत्र रद्द गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएपछि मतदान बुधबारका लागि तोकिएको निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले जानकारी दिनुभयो।
मङ्गलबार बिहान मतदान प्रक्रिया सुरु गर्नुपर्ने मागसहित विद्यार्थीले बगरस्थित क्याम्पस गेटअघि नाराबाजी गरेका थिए। केही समय विद्यार्थी र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो। यहाँ स्वतन्त्रसहित आठ जना अध्यक्षका उम्मेदवार छन्।
अखिल छैटौंले मङ्गलबार साँझ विज्ञप्ति निकाले यो निर्वाचन समितिले निष्पक्ष निर्वाचन गर्न नसक्ने जिकिर गर्दै निर्वाचन समिति संयोजकको राजीनामा माग गरेको छ।