• ६ जेठ २०८१, आइतबार

ईनारमा शव फेला, हत्याको आशङ्का

blog

फाइल तस्विर

सन्तोष सुवेदी

सिरहा, जेठ १९ गते । सिरहाको गोलबजार नगरपालिका –२ टुड्कीया निवासी ज्ञानचन्द्र भन्ने विष्णुदेव साहको शव विहीवार विहान इनारभित्र फेला परेको छ । पत्नीका लागि औषधी लिएर फर्किन्छु भन्दै मङ्गलबार बेलुकी साइकल लिएर बाहिर जानुभएका उहाँ नफर्किनु भएपछि आफन्तले खोजतलास गर्ने क्रममा विहीवार विहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उहाँको शव फेला परेको हो । 

मृतककी पत्नी शिवोदेवी साहले रिसिइबीका कारण पति विष्णुदेवको हत्या भएको हुनसक्ने बताउनुभयो । बाटो बनाउने क्रममा गाउँकै केही व्यक्तिले मारिदिने धम्की दिएको उहाँले बताउनुभयो । घटनाको विस्तृत अनुसन्धानको उहाँले सरकारसँग माग गर्नुभयो ।

वैदेशिक रोजगारबाट एक महिना अगाडि मात्र घर फर्किनुभएका ४८ वर्षीय साहको गाउँमा आरसीसी ढलान गर्ने विषयमा स्थानीयसँग विवाद भएको उहाँले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्र.ना.उ. शुभाष बुढाथोकीले ईनारमा फेला परेको शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी दिनुभयो । पोष्टमार्टम रिपोर्टका आधारमा थप अनुसन्धान अघि बढ्ने उहाँले बताउनुभयो ।