• १९ असोज २०८१, शनिबार

नेपाली टोली आज अल स्टार्ससँग भिड्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ १९ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बिहीबार) राति अमेरिकामा बस्दै आएका नेपाली पूर्व क्रिकेटहरुको टोली नेपाल अल स्टार्ससँग अभ्यास खेल खेल्दैछ । 

यस खेल अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । सिरिजका लागि अल स्टार्ससँगको अभ्यास खेल महत्वपूर्ण हुने नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायके र कप्तान सन्दीप लामिछानेले बताउनुभएको छ । 

अल स्टार्सको कप्तानी नेपालका पूर्व क्रिकेटर पृथु बाँस्कोटाले गर्नुहुनेछ । अल स्टार्समा नेपालका पृथु बाँस्कोटासँगै स्पिनर बसन्त रेग्मी, कनिष्क चौगाई, बरदान चालिसे, न्युजिल्यान्डका अलराउन्डर कोरी एन्डरस लगायतका थुप्रै अन्तर्राष्ट्रिय खेलाडी हुनुहुन्छ । नेपालले अल स्टार्ससँगको खेलपछि दोस्रो अभ्यास खेल ह्युस्टन हरिकेन्सविरुद्ध शनिबार खेल्ने छ । नेपाल सिरिजका लागि लामो तयारी गरेर अमेरिका गएको हो । 

आईसीसी विश्वकप लिग–२ को यस सिरिजमा नेपाल आयोजक अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सिरिजमा नेपालले पहिलो खेल जुन ९ तारिख ओमानसँग खेल्नेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ तारिख खेल्नेछ ।

आईसीसी लिग–२ मा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् । 

नेपाली क्रिकेट टोली 

सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेट किपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।