• ३ चैत २०८१, आइतबार

सप्तरीमा यस वर्ष आँप उत्पादन कम हुने

blog

कृषि ज्ञान केन्द्र सप्तरी ।

विनय कर्ण

कल्याणपुर(सप्तरी), चैत ३ गते । सप्तरीलाई आँपको राजधानी मानिन्छ । देशैभरिमा यहाँ फलेको आँपको माग उच्च हुन्छ तर यस वर्ष भने सप्तरीमा आँप उत्पादनमा भने कमि आउने भएको छ । 

देशभरिमै स्वादिष्ट आँपको लागि लोकप्रिय मानिने सप्तरीमा यस वर्ष आँपको बोटमा विगतको तुलनामा कम मन्जरी लागेकोले उत्पादनमा कमि आउने भएको हो । गत आर्थिक वर्षमा ७१ हजार २५० मेट्रिकटन आँपको उत्पादन भएकोमा यस वर्ष ५० हजार ५० मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले जानकारी दिनुभयो ।

गत वर्ष आँपका लागि ‘अनयेयर’ अर्थात् फल्ने वर्ष थियो र यस वर्ष ‘अफयेयर’ अर्थात् नफल्ने वर्ष भएकोले उपादकत्वमा कमि आउने उहाँले बताउनुभयो । “आँपको नेचर नै त्यस्तो हुन्छ, एक वर्ष धेरै फल्ने र त्यसपछिको वर्ष कम फल्ने र यो वर्ष कम फल्ने वर्ष भएकोले उत्पादनमा कमि आउनु स्वभाविक हो,” राउतले भन्नुभयो ।

कूल ७ हजार ७ सय हेक्टर जमिनमा आँपको बोट रहेको सप्तरीमा आर्थिक वर्ष २०८०÷०८१ मा प्रति हेक्टर ९ दश्मलव ५ मेट्रिकटन उत्पादकत्व रहेकोमा यस वर्ष प्रति हेक्टर ६ दश्मलव ५ मेट्रिकटन उत्पादकत्व हुने कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

मधेश प्रदेशमै सबै भन्दा बढी आँप उत्पादन हुने जिल्लाको रूपमा पनि चिनिएको सप्तरीको भोगौलिक अवस्था र हावापानीको दृष्टिकोणले हेर्दा आँप उत्पादनका सुहाँउदो मानिन्छ ।

मधेश प्रदेशमा सप्तरीपछि सिरहामा पनि रामै आँप उत्पादन हुन्छ तर, स्वादको मामिलामा सप्तरीको आँप उत्कृष्ट रहेको बताउनु हुन्छ कृषि ज्ञान केन्द्र सप्तरीका बागवानी अधिकृत रक्षा यादव । उहाँले यहाँको मालदह, बम्बई, कलकतीया, अम्रपाली, मल्लिका र गुलाव खास आँप एकदमै स्वादिलो हुने भएकाले अनयन्त्र जिल्ला पनि ती आँपहरूको ठुलो माग रहिआएको बताउनुभयो ।