• ३ चैत २०८१, आइतबार

कालीगण्डकी कोरिडोर निर्माणमा खटिएका मजदुरको मृत्यु

blog

रेखीराम राना

तानसेन, चैत ३ गते । कालीगण्डकी कोरिडोर अन्तर्गत राम्दी-दर्पुक-रानीमहल सडकखण्डमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली गोलाचउर–६ का २६ वर्षीय भोजराज अस्लामीमगर र दाङ् जिल्ला तुल्सीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी रहनुभएको छ । 

उहाँहरू दुवै जनाको शव पाल्पाको बगनासकाली–६, यम्घा माइचउरस्थित कालीगण्डकी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । 

कालीगण्डकी कोरिडोर अन्तर्गतको सडकमा डोजर अपरेटरको रूपमा कार्यरत अस्लामी मगर हराएको छ दिनपछि नदी किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।

यस्तै सोही सडकमा मजदुरको रूपमा कार्यरत रास्कोटी पनि मृत फेला पर्नुभएको छ । फागुन २९ गते बगासकाली–६, माइचउरस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता हुनुभएका रास्कोटी चार दिनपछि नुहाउने स्थानदेखि २०० मिटर तल मृत फेला पर्नुभएको हो । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।