• ३ चैत २०८१, आइतबार

भारतीय गाडीको ठक्करबाट बालकको मृत्यु, तीन घाइते

blog

जनार्जन खत्री

सर्लाही, चैत ३ गते । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–८, बालुवाभारमा स्कारपियोको ठक्करबाट एक बालकाको मृत्यु भएको छ । 

दुर्घटनामा अरू तीन जना घाइते भएका छन् । शनिवार राति हुलाकी सडकमा पार्किङ गरेर राखिएको बीआर ०६ पि ई २८२० नम्बरको जिपलाई बालुवाभारबाट मधुवनी गाउँतर्फ जाँदै गरेको बीआर ३० ए ई २४९० नम्बरको स्कारपियो गाडीले ठक्कर दिँदा अनियन्त्रित भई सडक छेउमा बसिरहेका मानिसहरूलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ । 

गाडीको ठक्करबाट भारतको सितामढी थाना बरगनिया नन्दबारा ग्राम पञ्चायत घर भई बलरास्थित मामाघर आएका रामेश्वर साहका छोरा पाँच वर्षीय पीयूषकुमार साहको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिनुभयो । दुर्घटनामा बलरा नगरपालिका–८, का महेश साहकी छोरी पाँच वर्षीया आशिका कुमारी, ६५ वर्षीय सुनिलाल महतो र ४० वर्षीया लीला देवी घाइते भएका प्रहरीले जनाएको छ । 

घाइते तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार जारी रहेको छ । दुर्घटनापछि स्कारपियो चालक गाडी छाडेर फरार भएका छन् । 

प्रहरीले स्कारपियो नियन्त्रणमा लिएर फरार रहेका चालकको खोजी गरिरहेको डिएसपी राईले बताउनुभएको छ ।