• ३ चैत २०८१, आइतबार

पुल निर्माण अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन

blog

अलपत्र अवस्थामा रहेको पुल । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता

तम्घास, चैत ३ गते । गुल्मीमा पुल निर्माणको कार्य अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर–५, कुखुरे खोलामा निर्माणाधीन पक्की पुल लामो समयदेखि अलपत्र अवस्थामा छ । 

पक्की पुल निर्माणका लागि दुवैतर्फका पिल्लर मात्रै निर्माण गरिएको छ । पुल निर्माणका लागि सडक पूर्वाधार विकास कार्यालय गुल्मीमार्फत अत्रेय भुसाल बस्नेत, जेभी काठमाडौँले निर्माणको जिम्मा लिएको कार्यालय प्रमुख इन्जिनियर सच्चितानन्द चौधरीले जानकारी दिनुभयो ।  

२५ मिटर लम्बाइ रहेको पुल दुई करोड ४३ लाख ३७ हजार ७०६ रुपियाँ भ्याटबाहेकको लागतमा पुल निर्माणको ठेक्का लागेको थियो । सडक पूर्वाधार कार्यालय तम्घास गुल्मीमार्फत २०७७ माघ २१ गते सम्झौता भई २०७८ माघ १७ गते सम्पन्न गर्ने उल्लेख छ । पहिलो पटक तोकिएको समयमा काम सम्पन्न हुन नसकेपछि पुनः २०८१ असोज ३० गते सम्पन्न गर्ने गरी तीन पटक म्याद थप गरिएको कार्यालय प्रमुख चौधरीले बताउनुभयो । 

पछिल्लो पटक थप भएको अवधिमा पनि पुल निर्माणले गति लिन नसकेर म्याद सकिएको छ । निर्माण व्यवसायी अहिले सम्पर्कविहीन भएकाले समस्या भएको कार्यालयले जनाएको छ । 

पक्की पुल समयमै नबन्दा बर्सातको समयमा ग्रामीण क्षेत्रको व्यापारिक केन्द्र कुखुरेखोला बजारसम्म किनमेल गर्न जानका लागि सास्ती हुने गरेको इस्माका स्थानीयले जनाएका छन् । यसका साथै वर्षायामको समय झन् समस्या झेल्नु परेकाले सम्बन्धित कार्यालय र सरोकारवालाको समयमै ध्यान जान नसक्नु दुःखद भएको स्थानीयको भनाइ छ ।